काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर भित्र हिन्दी फिल्म माथिको प्रतिबन्ध नखुलाउने बताएका छन् । अदालतले खुलाउने आदेश दिए पनि देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफुले कुनै कानुन र अदालतलाई नमान्ने बालेनले बताएका हुन् ।
आज उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
त्यसको जवाफमा बालेनले जुन सुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने बताएका हुन्। अदालत र सरकार भारतको गुलाम भएको बालेनको आरोप छ ।
बालेनले भनेका छन् ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
मेयर बालेन्द्र शाहले चलचित्र ‘आदिपुरुष’मा समावेश भएको एउटा डायलग नसच्चिएसम्म काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिईने बताएका थिए। उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिइने बताएका थिए । सो विरुद्द फिल्म हाल संचालक अदालत गएका हुन् । तर बालेनले भने अदालतले आदेश दिए पनि फिल्म चलन नदिने बताएका हुन् ।
















