२०८३ बैशाख २८ गते, सोमबार २१:०३

धोबिनी गाउँपालिकामा अख्तियारको छापा

वीरगंज/गुणस्तरहीन सामाग्री प्रयोग गरेर पर्साको धोबिनी गाउँपालिकामा अस्पताल निर्माणको कार्य भएको भन्दै अख्तियारको टोलीले छापा हानेको छ।

धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरमा निर्माणाधिन १५ बेडको अस्पतालमा कमसल किसिमको गिटी, बालुवा, छडलगायत निर्माण सामाग्री प्रयोग गरिएको उजुरीको आधारमा निर्माणस्थलमा अख्तियारले छापा हानेको हो।

उजुरीको आधारमा सोमबार अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले निर्माण सामाग्रीको नमुना संकलन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए। उनले अस्पताल निर्माणमा प्रयोग गरिएको गिटी, बालुवा, छडगायतका निर्माण सामाग्रीको नमुना संकलन गरी अनुसन्धान अघि बढाइएको बताए।

‘उजुरीको आधारमा टोलीले त्यहाँबाट सामाग्रीको नमुना संकलन गरेर फर्केको छ,’ उनले भने, ‘अस्पताल निर्माणको क्रममा गाुणस्तरहीन सामाग्रीको प्रयोग भएको भन्ने उजुरी परेको छ।’

ठेकेदार कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरेर अस्पताल निर्माण गरिरहेको भन्दै स्थानीयवासीले लागातार विरोध गर्दै आएका थिए। अस्पताल निर्माणको ठेक्का बुद्ध, ड्रेगन, बस्नेत जेभीले पाएको छ तर निर्माणको काम भने पप्पु कन्स्ट्रकसनले गरिरहेको स्थानीय सन्तोष पटेलले आरोप लगाए। उनले ठेकेदार कम्पनीको मनोमानीकै कारणले अस्पताल निर्माणमा कमसल सामाग्री प्रयोग भइरहेको बताए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले १५ मंसिर २०७७ मा देशभरका ७५३ स्थानीय तहमा अस्पताल पुर्‍याउने भन्दै योजनाको भर्चुअल उद्घाटन गरेका थिए। उक्त अस्पताल पनि सोही योजनाअन्तर्गत बनिरहेको छ।

योजना हेरिरहेका धोबिनी गाउँपालिकाका सबइन्जिनियर रविभूषण पटेलले आफूहरुले राम्रो काम गरेको दाबी गरे। देशसंचार

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM