Friday, March 29, 2024
घरअन्तर्वार्तायही व्यवस्थामा सर्वसम्मतिबाट ‘राजा’ लाई राष्ट्रप्रमुख बनाऊँ: डा. पाठक

यही व्यवस्थामा सर्वसम्मतिबाट ‘राजा’ लाई राष्ट्रप्रमुख बनाऊँ: डा. पाठक

– चिरञ्जीवी पौडेल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशले राजनीतिको साइडलाइनमा तरंग उब्जेको छ । नयाँ राष्ट्रपति चयनका विषयमा ठूला दलहरूबीच खिचातानी चलिरहेको र बाह्य चलखेलसमेत बढेको बेला पूर्वराजाले दलहरूसँग सहकार्यको आह्वान गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजाको आह्वानमा प्रतिक्रिया दिएका छन् । ओलीले आफ्ना अगाडि दुई-चार सय मान्छेहरू देखेर पूर्वराजा हौसिएको हलुका टिप्पणी गरेका थिए । उनले पत्रकारसँग कुरा गर्दै २४० वर्षमा राजसंस्थाले नेपालमा के गर्‍यो भन्ने प्रश्नसमेत उठाए । नेपालले भने वक्तव्य नै जारी गरेर पूर्वराजाको सन्देश नै अनधिकृत र असंवैधानिक रहेको बताएका छन् ।

त्यसो त पूर्वराजाको हरेक वक्तव्यले राजनीतिक दलहरूलाई अत्याउने र झस्काउने गरेको छ । यसअघि पूर्वराजाले अमूर्तरूपमा वर्तमान राजनीतिक व्यवस्थाप्रति आफ्नो असन्तुष्टि पोख्ने गरेका थिए । यसपालि भने उनले मूर्त र ठोसरूपमै दलहरूसँग सहकार्यको प्रस्ताव राखेका छन् । तर, उनले कस्तो खालको सहकार्य चाहेका हुन् भन्ने स्पष्ट छैन ।

हामीले यस विषयमा पूर्वराजाका प्रमुख संवाद सचिव फणिराज पाठकसँग प्रश्न गर्‍यौं ।

उनले परम्परागत जवाफ दिए, ‘दल र राजा मिल्नुपर्‍यो, देश बनाउनुपर्‍यो । सहकार्य भनेको त्यही नै हो ।’

तर, अहिले देशमा गणतन्त्र छ । अहिलेको संविधानले ‘राजा’ चिन्दैन । पूर्वराजा ज्ञानेन्द्र एउटा आम नागरिकको हैसियतमा छन् । भने, के हैसियतमा उनीसँग दलहरूले सहकार्य गर्न सक्छन् भन्ने प्रश्न उठ्छ । के पूर्वराजाले संवैधानिक राजसंस्थाका रूपमा फेरि आफ्नो स्पेस खोजेका हुन् ?

पाठकले स्पष्ट पारे, ‘दलहरूले आफ्नो स्पेस राखुन् र राजालाई कुनै रूपमा स्पेस दिउन् । २००७ सालजसरी देश अगाडि बढ्नुपर्‍यो । यही नै उत्तम विकल्प हो ।’

पाठकले ठोसरूपमै पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बनाउन प्रस्तावसमेत गरे ।

उनले भने, ‘अहिले राष्ट्रपति कसलाई बनाउने भन्नेमा लडाइँ चलिरहेको छ । विदेशीले फलानोलाई बनाऊँ, ढिस्कानोलाई बनाऊँ भनिरहेका छन् । कुनै विदेशीको गुलामलाई राष्ट्रपति बनाउनुभन्दा त राजालाई नै राष्ट्रप्रमुखको भूमिका दिँदा भयो नि ।’

अहिलेको गणतान्त्रिक व्यवस्थामा ‘राष्ट्रप्रमुख’ भनेको राष्ट्रपति नै हो । के यही व्यवस्थालाई स्वीकारेर पूर्वराजाले राष्ट्रप्रमुखको भूमिका लिन तयार होलान् त ?

पाठकले यसमा सकारात्मक संकेत गरे ।

‘सुरूमा त दलहरूबाट प्रस्ताव जानुपर्‍यो, त्यसपछि न कुरा अगाडि बढ्छ । पहिले प्रस्ताव गरुन् । त्यसपछि म खान्न भनेर पक्कै भन्नुहुन्न होला । हाउसले नै राजा ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखका रूपमा राख्ने भनेर सर्वसम्मत निर्णय गरे भइगयो नि,’ उनले भने ।

पूर्वराजाले आफ्नो वक्तव्यमा देश ओरालो लागेको भन्दै अब मौन बस्न नसक्ने पनि बताएका छन् । यसको अर्थ उनले संविधानमा आफ्नो स्पेस खोज्न कुनै राजनीतिक मूभ लिँदैछन् ?

पाठकले यो सम्भावनालाई पनि नकारेनन् ।

उनी भन्छन्, ‘यत्रो वर्ष पर्खेर सहेर बस्नुभएकै हो । संयम राख्नुभएकै हो । दलहरूले साह्रै पेल्ने हो भने उहाँले पनि आफ्नो स्पेसका लागि केही नगरी बस्नुहोला र ?’

तर, पूर्वराजाले कस्तो मूभ लिन सक्छन् भन्नेमा उनले केही बताएनन् ।

‘राजाले आफ्नो स्ट्रेटिजी सबै हामीलाई पनि भन्नुहुन्न नि,’ पाठकले भने ।

पूर्वराजाले यसअघि दोस्रो जनआन्दोलनका बेला आफूसँग भएका सहमति पालना नगरेर दलहरूले धोकाधडी गरेको आरोप लगाउँदै आएका छन् । दलहरूले चाहीँ त्यस्तो कुनै समझदारी नभएको दाबी गरेका छन् ।

पूर्वसचिव पाठक दलहरू र राजाबीच राजसंस्थालाई स्पेस दिएर देशमा प्रजातन्त्र बहाली गर्ने सहमति भएको बताउँछन् ।

‘त्यो लिखितरूपमा थिएन । राजाले कसैसँग लिखित सहमति गर्ने कुरा पनि हुँदैन । पाँचवटा बुँदामा भद्र सहमति भएको थियो । तर, त्यसमा दलहरू इमान्दार भएनन्,’ उनले भने ।

यतिबेला राजसंस्थाको वकालत गर्दै अगाडि आएका भुरेटाकुरे शक्तिहरू थुप्रै छन् । तर, निर्णायक ढंगले राजसंस्थाको मुद्दालाई कुनै भरपर्दो शक्ति नहुँदा पनि पूर्वराजा आफैं अग्रसर भएको देखिन्छ । दलहरूले चाहे आफ्ना प्रतिनिधिहरूमार्फत संवाद अगाडि बढाउने उनको मनस्थिति छ ।

पाठक भन्छन्, ‘राजाले आफ्ना प्रस्ताव राखिदिनुभएको छ । अब यसलाई कसरी लिने दलहरूको कुरा हो । समयको माग अनुसार चल्नुपर्छ । यो देशलाई बचाउने हो, नेपाल देशको अस्तित्व राख्ने हो भने दल र राजा मिल्नुपर्छ ।’

पाठक भन्छन्, ‘आफ्नो दुनो सोझ्याउनका लागि राजसंस्थाको पसल थाप्नेहरूसँग कुनै आशा छैन । मुख्य कुरा भनेको तीन प्रमुख दल र राजा मिल्नु नै पर्छ । अन्यथा देशी-विदेशीको चंगुलमा पर्नबाट कसैले रोक्न सक्दैन ।’

अन्तिममा फेरि सोधियो, ‘अहिलेकै गणतन्त्र स्वीकारेर राष्ट्रपति बन्न अफर आयो भने पूर्वराजाले स्वीकार्नुहोला ?’

पाठकले जवाफ दिए, ‘सुरूमा प्रस्ताव त आउनुपर्‍यो । दलहरू पहिलेजसरी सहमतिमा बेइमान बन्नु भएन । छक्याउने काम गर्नुभएन । त्यो भयो भने कुरा अगाडि बढिहाल्छ नि । राजाले कसैलाई छक्याउनुहुन्न । उहाँ जे भन्नुहुन्छ, त्यही गर्नुहुन्छ ।’ साभार: नेपालप्रेस

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

Most Popular

Recent Comments