काठमाण्डौ, २७ फाल्गुण /
भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। उत्तर प्रदेश, उत्तराखण्ड र मणिपुरमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत पाएको छ। त्यस्तै गोवामा पनि भाजपा सबैभन्दा ठूलो दल बनेको छ। पञ्जाबमा भने आम आदमी पार्टी (आप)ले ऐतिहासिक जित हात पारेको छ।
कुन राज्यको अवस्था कस्तो?
उत्तर प्रदेश
४०३ विधानसभा सिट भएको उत्तर प्रदेशमा भाजपाले २५५ सिटमा जित हात पारेको वा अग्रता लिएको छ। समाजवादी पार्टीले १११ सिटमा जित हात पारेको छ। कांग्रेसले २ र बीएसपीले १ सिट हात पारेको छ।
यो राज्यमा भाजपाले ४१ प्रतिशत मत पाएको छ भने समाजवादी पार्टीले ३२ प्रतिशत मत पाएको छ।
उत्तराखण्ड
७० सिटको विधानसभा रहेको उत्तराखण्डको ४७ सिटमा भाजपाले जित हात पारेको छ। त्यस्तै कांग्रेसले १९ सिट र बीएसपीले २ सिट पाएको छ। यो राज्यमा भाजपाले ४४ प्रतिशत र कांग्रेसले ३८ प्रतिशत भोट पाएका छन्।
मणिपुर
६० विधानसभा सिट रहेको मणिपुरको ३२ सिटमा भाजपाले जित हात पारेको छ। कांग्रेसले ५, जेडीयूले ६ सिटमा जित हात पारेका छन्। भाजपाले यो राज्यमा करिब ३८ प्रतिशत मत पाएको छ। कांग्रेसले करिब १७ प्रतिशत र जेडीयूले ११ प्रतिशत मत पाएका छन्।
गोवा
४० सिट रहेको गोवामा भाजपाले २० सिटमा जित हात पारेको छ। कांग्रेसले ११, आपले २ सिटमा जित हात पारेका छन् भने स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन्।
भाजपाले गोवामा ३३ प्रतिशत भोट पाएको छ भने कांग्रेसले २३ प्रतिशत तथा आपले ७ प्रतिशत भोट पाएका छन्।
पञ्जाब
पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित हात पारेको छ। नवजोत सिंह सिद्धू, चरणजित सिंह चन्नी, सुखबीर बादलजस्ता दिग्गज नेताले आफ्नो सिट पनि बचाउन सकेनन्। पञ्जाबको ११७ विधानसभा सिटमध्ये ९२ सिटमा आपले जित हात पारेको छ। कांग्रेसले १८ सिट जितेको छ। शिरोमणि अकाली दलले ३ र भाजपाले २ सिट जितेका छन्।
आम आदमी पार्टीले ४२ प्रतिशत भोट पाएको छ भने कांग्रेसले २३ प्रतिशत मत पाएको छ।