चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ५ असार/
पर्सा प्रहरी प्रमुखमा हालै सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको आगमनसँगै सर्वसाधारण नागरिकमा पलाएको “मितव्ययी प्रहरी सेवा, शान्ति सुरक्षामा सहजता”लगायतको आशामा यतिखेर तुशारापात हुन थालेको छ ।
प्रहरीले नागरिकहरूसँग मित्रवत व्यवहार गर्ने तथा मुस्कानसहितको प्रहरी सेवा दिने सिद्धान्त विपरित जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरकै निर्देशनमा विपद व्यवस्थापन गणका प्रहरी निरीक्षक तीर्थ बहादुर (टिबी) कार्कीको कमाण्डमा खटिएका प्रहरीहरू विहीबार साँझ वीरगंजको अति व्यस्त स्थल घण्टाघरमा सवारीसाधनको लाइसेन्स र ब्लूबुकलगायतका कागजात चेकजाँच गर्ने बहानामा गुण्डागर्दी शैली प्रस्तुत गरिरहेका थिए ।
हजारौं यात्रु ओहोर दोहोर गर्ने समयमा एकजना पनि ट्राफिक प्रहरी नराखी नेपाल प्रहरीकै एक हुल प्रहरीहरू लगाएर सो बाटोबाट ओहोर दोहोर गर्ने नागरिकहरूको मोटरसाइकल लगायतका सवारी साधन रोकेर ब्लूबुक र लाइसेन्स चेक गरिरहेका थिए ।
सोही क्रममा कतिपय दुई पाङ्ग्रे सवारीका चालकले “लाइसेन्स र ब्लुबुक तथा गाडीका कागजात चेकजाँच गर्ने निकाय ट्राफिक प्रहरी हो, तपाईंहरूले एकजना पनि ट्राफिक प्रहरी नराखी किन चेकजाँच गरिरहनु भएको छ, गलत लाइसेन्स र ब्लुबुक फेला परे चिट कसले काट्ने ?” भनि जिज्ञासा राख्दा प्रहरी निरीक्षक टिबी कार्कीको कमाण्डमा खटिएका प्रहरीले सर्वसाधारण नागरिकहरूसँग दुर्व्यवहार गरिरहेका थिए ।
ती सवारी चालकले मुख किन छाड्नु भएको ? यही हो त बोल्ने शैली ? भनेर प्रश्न गर्दा ती प्रहरीले तँ हामी वर्दीवाला प्रहरीसँग प्रश्न सोध्ने को होस् भन्दै झन उग्र शैलीमा प्रस्तुत भएका थिए ।
सोही ठाउँमा खटिरहेका कमाण्डर प्रहरी निरीक्षक तीर्थ बहादुर (टीबी) कार्कीले हामीलाई माथिबाट आएको निर्देशनअनुरुप चेकजाँच गर्ने हो भन्दै लाइसेन्स मागेका थिए ।
दुई पाङ्ग्रे सवारीका चालकले आफूले अन्य सुरक्षा चेकजाँच बाहेक गाडीको कागजात, ब्लुबुक र लाइसेन्स ट्राफिक प्रहरीलाई मात्र देखाउने अड्डी लिएपछि प्रहरी निरीक्षकले सो गाडीलाई रोकी आधी घण्टामा अन्यत्रबाट ट्राफिक प्रहरी “हायर” गरी बोलाएर चेकजाँच पछि सबै कागजात दुरुस्त भेटिएपश्चात गाडीलाई जान भनेका थिए ।
यस सम्बन्धमा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्त शर्मालाई जानकारी गराउँदा नागरिकसँग दुव्र्यवहार गर्ने प्रहरीको कुनै नीति नरहेको बताए । उनले प्रदेश नं. २ अन्तगर्त रहेका विपद व्यवस्थापन गणका प्रहरी निरीक्षक तीर्थ बहादुर कार्की हाम्रै निर्देशनमा चेकजाँचको लागि खटिएको बताए । उनले चेकजाँचको क्रममा यात्रुहरूसँग अभद्र शैली प्रस्तुत गर्ने प्रहरीलाई कारवाही गरिने बताए ।
नागरिक तथा सवारी चालकसँग दुव्र्यवहार गर्ने नीति नभए नियम विपरीत गुण्डागर्दी शैली प्रस्तुत गर्ने प्रहरीहरू छाडा भएका हुन् वा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरूको निर्देशन पालना गर्न नहुने मनस्थितिमा पुगेका हुन् ? प्रहरीका आगामी दिनका ड्यूटी, गतिविधि र व्यवहारमाथि पर्सेली जनताले निगरानी गरिरहने छन् ।