अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता

0

दमक । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।

सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ ।

खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृङ्खलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमता देखिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै आपराधिक घटना पनि मिलोमतो मै हुने गरेको घटनाक्रमले देखाएका छन् । एक साताअघि झापाको गौरीगञ्जसँग सीमासंग जोडिएको भारतको सुपौल जिल्ला विहार राज्यअन्तर्गतका सात वर्षीय बालक अपहरणमा परे । उनको अपहरणको उद्देश्य फिरौती माग्नेसंग सम्बन्धित थियो ।

व्यक्ति अपहरण गरी राख्ने र फिरौती माग्ने धन्दामा भारतीयसँग सीमावर्ती गौरीगञ्ज गाउँपालिकाका तीन नेपालीसमेत परे । राजनीतिक तथा सामाजिक रूपमा समेत स्थापित भनिएका त्यहाँका बद्री यादवसहित अन्य दुईले बालक अपहरण गरी रु १५ लाख फिरौती मागेका थिए।

भारतीय बालकलाई ल्याएर फिरौती माग्ने धन्दामा नेपालीकै सहयोग र आश्रय पाएपछि भारतीय अपराधीले सहजै नेपाली भूमिलाई अपराधको थलो बनाए । भारतीय अपराधीमाथि के–कस्तो कारवाही चलिरहेको छ भन्ने यकिन नभए पनि बालक अपहरण र फिरौती माग गर्ने यादवसहित तीन जनाविरुद्ध नेपाल प्रहरीले भने शरीर बन्धक तथा अपहरण मुद्दामा म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाएको छ ।

गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको सक्रियतामा दमकबाट बालकको उद्धारपछि इलाका प्रहरी कार्यालय दमकले ती बालकलाई भारतीय प्रहरीको जिम्मा लगाइसकेको छ ।

केही समय अघि गौरीगञ्ज–२ का एक नेपालीको सीमावर्ती भारतीय दशगजामा भारतीय अपराधीले हत्या गरे । त्यो घटनामा नेपाल प्रहरीले भारतमै गएर अपराधी पहिचान गरी पक्राउ गरेको भए पनि कारवाहीका लागि भारतीय सुरक्षाकर्मीकै भर पर्नुपरेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो। सभार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्