Saturday, March 15, 2025
घरविचारधर्म संस्कृतिधार्मिक सदभावको पर्व: छठ

धार्मिक सदभावको पर्व: छठ

बिम्मी शर्मा

–  बिम्मी कालिन्दी शर्मा

सानोमा बाघ र बाख्रीले एउटै घाटमा पानी पिएको कथा सुनेको थिएं । त्योबेला अचम्म लागेको थियो यस्तोपनि हुन्छ र भनेर ? तर जब बुझ्ने भएं अनि छठपर्वमा सबै जातजातिकाले बिना कुनै भेदभाव एउटै घाटमा बसेर छठीमैयाको कथा भन्दै सूर्यदेवलाई अध्र्य दिएको देखे भित्रबाटै भावबिभोर भएं । त्योदिन धनी, गरिब, तथाकथित ठूला र साना जात, शत्रु र मित्र, वर्ग र समाज सबै बिर्सिएर छठ घाटमा एकाकार हुन्छन् ।

सबैभन्दा दुलर्भ क्षण त्योबेला महसुस हुन्छ जब अस्ताउन लागेको सूर्यलाई पश्चिमपट्टि फर्केर हजारौं हातले एकैपल्ट अध्र्य दिन उभिन्छन् । त्यो दृश्यलाई र मनन गर्न पाउनु आफैमा सुखद छ । त्योबेला समयपनि एकछिन थामिए झैं लाग्छ ।

ओरालो लागेको र कमजोरलाई मान्छे र समाज दुबैले खेद्छन् तर अस्ताउन लागेको सूर्यलाई अर्धय दिएर कसैलाई हेला नगर्नु, एकदिन सबैको पालो आउंछ भन्ने गहकिलो सन्देश दिने छठपर्व मधेशको पहिचान हो । मधेशको संस्कृतिलाई बुझ्नकालागि यहाँको जनजीवनमा मिश्री झैं घोलिएको छठपर्वलाई हेर्न र बुझ्न जरुरी छ ।

छठपर्वको सबैभन्दा राम्रो पक्ष हो स्थानियतासंग जोडिएको यसको सम्बन्ध । छठपर्वमा प्रयोग गरिने हरेक वस्तुको उत्पादन र वितरण स्थानीय किसान र ब्यापारीको सहयोगमा हुन्छ । चाहे त्यो अदुवा र मुला उगाउने किसान होस वा, दियो, ढकना र माटोको हात्ती बनाउने कुम्हाल या अर्घ, नागँलो र ढक्की बनाउने डोम समुदाय । छठपर्वले सबैलाई एउटै ठाउंमा ल्याउंछ । त्यो बेच्नकालागि राखिएको बजार होस् वा छठघाट ।

स्थानीय स्तरमै छठमा ब्यापार हुन्छ र आफ्नो उपार्जन बिक्री गरेर आएको पैसा ती साना किसान र ब्यापारीले छठमै खर्च गर्छन् । छठ गर्ने ब्रतालु महिलाले गहना र लुगा विदेशी लगाएपनि छठपर्वमा प्रयोग गरिने अधिकाँश सामान स्वदेशी र स्थानीय स्तर कै हुन्छन् ।

आआफ्नो गच्छे अनुसार बाम्हणदेखि डोम र मुस्लिम समुदाय सबैले एउटै घाटमा बसेर छठीमाईको गीत गाउंदै अध्र्य दिरहेको दृश्य जस्तो अलौकिक दृश्य अरु कुनै छैन होला संसारमा ।

छठपर्वले राजनीतिले कोरेको सीमालाई सीमाहिन बनाएको छ । सबै मधेशीलाई जोड्ने कुनै सुत्र छ भने त्यो छठ नै हो र यसको मुख्य प्रसाद ठेकुवा र बतासाले नै अहिलेसम्म छठपर्वको त्यो मिठासलाई कायम राखेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -