२०८३ असार १९ गते, शुक्रबार ००:२३

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित ओशो तपोवनमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। अध्यात्म तथा अद्वैत वेदान्त दर्शनमा आधारित उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो।

दीप प्रज्ज्वलन र स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा कृतिकी अनुसर्जक सुमी लोहनीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। कार्यक्रमको सञ्चालन स्वामी अर्हत्ले गरेका थिए।

समारोहका प्रमुख वक्ता स्वामी आनन्द अरुणले अष्टावक्र गीतालाई विश्वकै दुर्लभ आध्यात्मिक ग्रन्थमध्ये एकका रूपमा उल्लेख गर्दै यसको उत्पत्तिस्थल जनकपुर भएकाले यसको संरक्षण र प्रवर्द्धनप्रति नेपाल थप जिम्मेवार हुनुपर्ने धारणा राखे। उनले सन् १९७४ मा ओशोले आफ्ना निकटस्थ अठार साधकलाई अष्टावक्र गीतामाथि प्रवचन दिएको स्मरण गर्दै त्यस प्रवचनका आधारमा छ वटा ग्रन्थ तयार भएको बताए।

उनका अनुसार अष्टावक्र गीतामा जम्मा २९८ श्लोक भए पनि ती प्रत्येक श्लोकमा गहिरो आध्यात्मिक सन्देश निहित छ। पहिलो २० श्लोकले नै राजा जनकलाई आत्मबोधतर्फ उन्मुख गराएको प्रसङ्ग उल्लेख गर्दै उनले अष्टावक्र दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

स्वामी आनन्द अरुणले जनकपुरमा अष्टावक्र मन्दिर निर्माणका लागि आफूले पहल गरिरहेको र अष्टावक्र गीतालाई राष्ट्रिय कृतिका रूपमा घोषणा गराउन निरन्तर प्रयासरत रहेको जानकारी पनि दिए।

कृतिकी अनुसर्जक सुमी लोहनीले कोरोना महामारीका बेला अष्टावक्र महागीताको अध्ययनबाट गहिरो प्रेरणा प्राप्त भएपछि त्यसको सार आमपाठकमाझ सहज रूपमा पुग्ने उद्देश्यले ‘अष्टावक्र महागीतामृत’ तयार गरेको बताइन्।

साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताको दार्शनिक महत्त्वबारे धारणा राखेका थिए भने कृतिको समीक्षा गर्दै डा. रमा भट्टराईले यसलाई आत्मबोध र अध्यात्ममा रुचि राख्ने पाठकका लागि उपयोगी कृति भएको उल्लेख गरिन्। महिला स्रष्टाका कृतिलाई पूर्वाग्रहविना मूल्याङ्कन गरिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सुमी लोहनीका शिष्य डा. अनन्त अर्यालले अष्टावक्र महागीतालाई ध्यान, साधना र सेवाभावका साथ अध्ययन गरे यसको वास्तविक मर्म बुझ्न सकिने धारणा राखे। उनले आध्यात्मिक गुरु स्वामी रविशङ्करले पनि अष्टावक्र गीताको महत्त्वबारे सकारात्मक चर्चा गरेको प्रसङ्ग स्मरण गरे।

साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको ‘अष्टावक्र महागीतामृत’ को मूल्य २४० रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM