सिरहा । सिरहा प्रहरीले भारतीय सीमा क्षेत्रबाट ठूलो परिमाणको ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउका क्रममा प्रहरीले दुई राउन्ड गोलीसमेत चलाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–२० लगडीगोठ गाउँमा विशेष सूचनाका आधारमा परिचालित संयुक्त प्रहरी टोलीले भारतको पदमा ग्रामपञ्चायत-२ बस्ने २८ वर्षीय रञ्जित कुमार पासवान (छोटु) र एक नाबालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६० मिलिग्राम तथा प्लास्टिकबाहेक ९२ ग्राम ६ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।
उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्युरो, गोलबजार शाखाबाट खटिएको संयुक्त टोली परिचालन गरिएको थियो। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















