वीरगंज/त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजको मेन रोड (मुख्य सडक) फराकिलो गर्ने क्रममा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने निश्चित भएको छ।
गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो दायाँ बायाँ फराकिलो गर्ने चरणमा सडक सीमा क्षेत्रमा पर्ने घर,भवन लगायतका संरचना डोजर लगाएर भत्काउने कार्यको शुरुवात थियो।त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुरोध गर्दापनि सम्बन्धित घरजग्गा धनीहरुले आँफैले खाली नगरेपछि सडक विभागले असार ७ गतेदेखि फेरि फेरि डोजर लगाएर बाँकी संरचनाहरु हटाउने भएको छ।
त्यसका लागि सडक विभाग अन्तर्गतको सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगंज महानगरपालिकाको कार्यालयलाई पत्र लेख्दै आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ ।
सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगंज महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ; त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डको केन्द्र रेखाबाट दयाँबायाँ २५-२५ मिटर सडक सीमा भित्रका घर टहरा हटाउने कार्य गर्ने भएको हुदाँ उक्त कार्यको लागि आवश्यक सहयोग पुर्याइदिनु हुन अनुरोध छ ।
यसअघि गत मंगलबार पनि सडक विभाग मातहतको सडक डिभिजन हेटौंडाले एक सुचना नै जारी गर्दै ५ दिनभित्रमा घरजग्गा धनीहरु आँफैले सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरु खाली नगरे सडक विभागले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाउने जानकारी गराएको थियो।
गत बैशाख ६ र ७ गते सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ-बायाँ २५/२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डोजर चलाएर आंशिक रुपमा भत्काएको थियो।त्यसपछि केही घरधनी आँफैले २५-२५ मिटर क्षेत्रमा पर्ने घरहरु भत्काएका थिए।तर घण्टाघरदेखी माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेनरोड क्षेत्रका अधिकांश घर र भवनहरु भने घरधनीहरुले भत्काएका छैनन्।















