२०८३ असार २ गते, मंगलवार २१:३०

ठमेलमा अनैतिक क्रियाकलाप गर्ने ३२ जना पक्राउ

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा विदेशी तथा स्वदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने, बाटो छेक्ने तथा अश्लील गतिविधिका लागि मोलमोलाइ गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलको नरसिंहचोक क्षेत्रमा सार्वजनिक सडकमा हिँडिरहेका पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेक्ने, विभिन्न बहानामा हैरानी दिने तथा अश्लील गतिविधिका लागि प्रलोभन देखाउँदै मोलमोलाइ गर्ने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रारम्भिक रूपमा सम्झाइबुझाइ गर्ने प्रयास गर्दा नियन्त्रणमा लिइएकामध्ये केही व्यक्तिले उल्टै प्रहरीमाथि जाइलाग्ने तथा अभद्र व्यवहार गरेको जनाइएको छ। त्यसपछि प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।

उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराई ले ठमेल क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उद्देश्यले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM