२०८३ असार १ गते, सोमबार २२:२४

कमल थापा रास्वपा प्रवेश

धनगढी । सुदूरपश्चिमका युवा नेता तथा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्।

आज धनगढीमा रास्वपाको प्रदेश अधिवेशनको अवसरमा विगतमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको पार्टी नेकपा(माओवादी)निकट रहेर राजनीति गर्दै आएका थापालाई रास्वपाका महामन्त्री भूपदेव शाहले सोमबार पार्टीमा स्वागत गरे।

थापालाई रास्वपामा भित्र्याउन बझाङका युवा व्यवसायी तथा पूर्व संसदीय उम्मेदवार शैलेश सिंहले मुख्य भूमिका खेलेका छन्।

बझाङ, बाजुरा र अछाममा विद्यार्थी विशेष इन्चार्जको जिम्मेवारी सम्हालिसकेका थापा सुदूरपश्चिममा खरो र क्रान्तिकारी पहिचान बनाएका युवा नेता हुन्।

उनले बझाङदिप क्याम्पसमा विगतमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा निर्वाचित भएर चर्चा कमाएका थिए।

स्ववियु सभापति हुँदा उनले गरेका सुधारका कार्य र भ्रष्टाचार विरुद्धको अभियानका कारण उनी युवा पुस्तामाझ लोकप्रिय छन्।

केही दिनअघि मात्रै आफ्नो पुरानो सङ्गठनबाट राजीनामा दिएका थापाको रास्वपा प्रवेशलाई सुदूरपश्चिममा, बझाङमा रास्वपाको सङ्गठन विस्तारका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM