काठमाडौँ/भारतको तेलंगाना राज्यस्थित गाचीबाउली क्षेत्रमा एक सम्पन्न परिवारको घरबाट करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुन, चाँदी तथा नगद चोरी गरी नेपालतर्फ फरार हुँदै गरेका तीन जना नेपाली नागरिक भारतको उत्तर प्रदेशस्थित रामपुरबाट पक्राउ परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्नेहरू कमल, उनकी पत्नी विमला र साली कल्पना रहेका छन्। यद्यपि उनीहरूको पूरा परिचय तथा नेपालस्थित स्थायी ठेगाना सार्वजनिक गरिएको छैन।
प्रहरीले उनीहरूको साथबाट करिब ७ किलो सुन, १ किलो चाँदी र २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरेको जनाएको छ। बरामद गरिएका बहुमूल्य सामग्री चोरी भएकै घरबाट लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
अनुसन्धानका क्रममा तीनै जना उक्त परिवारको घरमा घरेलु कामदारका रूपमा कार्यरत रहेको खुलेको छ। उनीहरूले लामो समयसम्म घरधनीको विश्वास जित्दै घरको सुरक्षा व्यवस्था, बहुमूल्य सामग्री राखिएको स्थान तथा परिवारको दैनिक गतिविधिबारे जानकारी संकलन गरेका थिए।
प्रहरीका अनुसार घरधनी परिवार बाहिर गएको अवसर पारेर उनीहरूले सुन, चाँदी र नगद चोरी गरी फरार भएका थिए। चोरीको घटना सार्वजनिक भएपछि तेलंगाना प्रहरीले विभिन्न राज्यका सुरक्षा निकायसँग समन्वय गरी खोजी अभियान सञ्चालन गरेको थियो।
तेलंगाना र उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष चेकजाँचका क्रममा रामपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ।
अभियुक्तहरूको आपराधिक पृष्ठभूमि तथा नेपालसँग सम्बन्धित विवरण संकलनका लागि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समेत समन्वय गर्ने तयारी गरेको बताइएको छ।
घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही व्यक्तिको आपराधिक गतिविधिका कारण भारतमा रोजगारी तथा श्रममा संलग्न इमानदार नेपाली नागरिकसमेत नकारात्मक टिप्पणीको सिकार बन्नुपर्ने अवस्था सिर्जना भएको भन्दै धेरै नेपालीहरूले दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।














