बर्दिया/बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा–३ स्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा नगरपालिका–३, बर्दिया, टिकापुर, लम्की’ नाम राखी कार्यालय सञ्चालन गरिएको पाइएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी जागिर दिलाइदिने, कर्मचारीका रूपमा नियुक्त गर्ने तथा मजदुरीमा लगाउने बहानामा ठगी गरिएको देखाएको छ। कार्यालय सञ्चालकले केही स्थानीयलाई कर्मचारीको रूपमा नियुक्ति दिएको देखिए पनि उनीहरूलाई पारिश्रमिक नदिएको खुलेको प्रहरीले जनाएको छ।
यस्तै, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्ने निर्माण कार्य गराएर समेत रकम भुक्तानी नगरेको आरोप लागेको छ। सोही विषयमा घरधनीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा आरोपितहरूले आफैं सरकारी कागजात तथा छाप तयार गरी नियुक्तिपत्रलगायतका कागजातमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीको भनाइ छ। नक्कली सरकारी संरचना खडा गरी सरकारी कार्यालयको स्वरूपमा गतिविधि सञ्चालन गरिएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती, दाङको लमही नगरपालिका–५ निवासी करिब २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरेको छ।
उनीहरूमाथि ठगी तथा लिखतसम्बन्धी कसुर (कीर्ते) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।














