विराटनगर । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई काठमाडौं केन्द्रित अवस्थाबाट बाहिर ल्याई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक गरिएको छ। कोशी प्रदेशलाई क्षेत्रीय आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित प्रस्तुत गरिएको यो अवधारणाले डिजिटल नेपालको विकेन्द्रीकरणलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशको नेतृत्वमा मोरङ, सुनसरी र उदयपुर जिल्ला शाखाहरूको सहकार्यमा आयोजित ‘डिजिटल नेपाल विकेन्द्रीकरण संवाद’ कार्यक्रममा उक्त रणनीतिक अवधारणा सार्वजनिक गरिएको हो। कार्यक्रममा ‘कोशी रिजनल आईटी हब’ शीर्षकको रणनीतिक दस्ताबेजसमेत प्रस्तुत गरिएको थियो।
क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा सूचना प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्व चिरञ्जीवी अधिकारी प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा कोशी प्रदेशको डिजिटल अर्थतन्त्र, प्रविधि उद्यमशीलता, स्टार्टअप विकास र आईटी पूर्वाधार विस्तारका विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठले प्रस्तुत रणनीतिक खाका व्यवहारमा उतार्न प्रदेश सरकारसँग सहकार्य गरिने बताए। उनले कोशी प्रदेशलाई आईटी क्षेत्रको प्रमुख गन्तव्य बनाउने लक्ष्यसहित नीतिगत तथा संस्थागत पहल अगाडि बढाइने उल्लेख गरे।
क्यान कोशी प्रदेशका अध्यक्ष सन्देश राईले कोशी क्षेत्र आफैंमा क्षेत्रीय आईटी हब बन्ने पर्याप्त सम्भावना रहेको बताउँदै यस अभियानलाई सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा प्रविधि समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
मोरङ शाखाका अध्यक्ष सुमितकुमार शाहले स्थानीय प्रतिभा र स्टार्टअप कम्पनीहरूको प्रवर्द्धनमा जोड दिँदै नीति तथा पैरवीमार्फत नवप्रवर्तनशील युवा जनशक्तिलाई अवसर सिर्जना गर्नुपर्ने बताए। सुनसरी शाखाका अध्यक्ष लोकेन्द्रप्रसाद ढकालले दिगो प्रविधि इकोसिस्टम निर्माणका लागि स्थानीय उद्यमी र आईटी व्यवसायीहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा व्यक्त गरे।
उदयपुर शाखाका अध्यक्ष राजन आचार्यले डिजिटल नेपालको विकेन्द्रीकरणलाई सफल बनाउन कोशी क्षेत्रमा बलियो सूचना तथा सञ्चार प्रविधि (आईसीटी) आधार निर्माण गर्नुपर्नेमा जोड दिए।
रणनीतिक दस्ताबेजअनुसार विराटनगर, इटहरी र धरानलाई एकीकृत प्रविधि कोरिडोरका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याइएको छ। प्रशासनिक केन्द्रका रूपमा रहेको विराटनगरमा सार्वजनिक क्षेत्रको डिजिटल सेवाप्रतिको बढ्दो माग, औद्योगिक क्षेत्रहरूमा ईआरपी, अटोमेसन तथा साइबर सुरक्षासम्बन्धी सेवाको आवश्यकता, साथै सीमावर्ती व्यापारिक गतिविधिका कारण डाटा एनालिटिक्स र सप्लाइ चेन व्यवस्थापनका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने दस्ताबेजमा उल्लेख गरिएको छ।
अभियानको मुख्य उद्देश्य केवल तालिम, गोष्ठी वा सेमिनारमा सीमित नरही ‘नेपाल मेड सफ्टवेयर’ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यातयोग्य प्रविधि उत्पादन विकास गर्नु रहेको आयोजकहरूको भनाइ छ। हेल्थ–टेक, एग्रि–टेक, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सार्वजनिक सेवाहरूलाई प्राथमिकताका क्षेत्रका रूपमा पहिचान गरिएको छ।
कार्यक्रममा आगामी दिनमा विशेष कार्यदल गठन गर्ने, कोशी क्षेत्रका आईटी कम्पनी, स्टार्टअप र फ्रिलान्सरहरूको विस्तृत म्यापिङ गर्ने तथा बजेट २०८३/८४ पछिको अवधिलाई कार्यान्वयनको उपयुक्त समयका रूपमा उपयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
क्यान महासंघ कोशी प्रदेशले बहुपक्षीय परामर्श र सहकार्यको माध्यमबाट डिजिटल नेपालको आगामी चरणलाई नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरेको छ।













