२०८३ जेष्ठ २४ गते, आईतवार १५:२१

रौतहटमा दुर्लभ चमत्कारिक प्रसव : पानीको झिल्ली नफुटिकनै जन्मियो शिशु

काठमाडौं । रौतहटस्थित चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै अत्यन्त दुर्लभ मानिने ‘एन काउल बर्थ’ (En Caul Birth) सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलाले गर्भभित्र रहेको एम्नियोटिक थैली (पानीको झिल्ली) नफुटिकनै त्यसैभित्र सुरक्षित अवस्थामा शिशुलाई जन्म दिएकी हुन्।

अस्पतालका प्रमुख डा. सुवास चौधरीका अनुसार चिकित्सा क्षेत्रमा अत्यन्त विरल मानिने यो घटना विश्वव्यापी रूपमा करिब ८० हजार प्रसवमध्ये एकपटक मात्र देखिने गरेको तथ्यांक छ।

सामान्यतया प्रसव पीडा सुरु भएसँगै वा बच्चा जन्मिने क्रममा गर्भभित्र रहेको पानीको थैली फुट्ने गर्दछ, जसलाई सर्वसाधारणले ‘पानी फुट्नु’ भनेर बुझ्ने गरेका छन्। थैली फुटेपछि मात्र शिशु जन्मिने प्रक्रिया अगाडि बढ्ने भए पनि यस घटनामा भने एम्नियोटिक थैली पूर्ण रूपमा सुरक्षित रहँदै शिशु त्यसैभित्र बाहिर आएको थियो।

‘एन काउल बर्थ’ मा शिशु पानीले भरिएको पारदर्शी झिल्लीभित्र सुरक्षित अवस्थामा देखिन्छ। बाहिर निस्किसकेपछि चिकित्सकहरूले अत्यन्त सावधानीपूर्वक उक्त झिल्ली च्यातेर शिशुलाई बाहिर निकाल्ने र श्वासप्रश्वास प्रक्रिया सुरु गराउने गर्छन्।

डा. चौधरीले प्रसवको संवेदनशील अवस्थामै झिल्ली नफुटाई शिशुलाई सुरक्षित रूपमा बाहिर निकाल्नु चुनौतीपूर्ण कार्य भए पनि अस्पतालको दक्ष प्रसूति टोली र आधुनिक उपकरणको सहयोगमा यो सफलतापूर्वक सम्पन्न भएको बताए।

उनका अनुसार हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य तथा सन्तोषजनक रहेको छ।

चिकित्सा विज्ञानमा दुर्लभ मानिने यस प्रकारको जन्मलाई विभिन्न समाजमा विशेष महत्वका साथ हेर्ने परम्परा पनि छ। परापूर्वकालदेखि झिल्लीसहित जन्मिएका शिशुलाई भाग्यशाली तथा विशेष क्षमतायुक्त व्यक्तिको रूपमा हेर्ने लोकविश्वास रहँदै आएको पाइन्छ।

अस्पतालमा घटेको यो दुर्लभ घटनाले स्वास्थ्यकर्मी, सेवाग्राही तथा शिशुका परिवारजनमा उत्साह थपेको छ। स्थानीय सरोकारवालाहरूले रौतहटजस्तो जिल्लामा रहेको अस्पतालले जटिल र संवेदनशील प्रसूति अवस्थाको सफल व्यवस्थापन गर्दै स्वास्थ्य सेवाको गुणस्तर, दक्षता र विश्वसनीयता पुनः प्रमाणित गरेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM