चन्द्रसूर्य समाचारदाता
वीरगंज, २७ वैशाख ।
यही ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वीरगंज महानगरको उप प्रमुख पदमा उम्मेदवारी दिएका मध्ये कसलाई जिताउने भन्ने सवालमा मतदाताहरू विभाजित देखिएका छन् ।
एकातर्फ पाँचदलीय गठबन्धनको तर्फबाट इम्तियाज आलमले उम्मेदवारी दिएका छन् भने अर्कोतर्फ एमाले-लोसपा गठबन्धनको तर्फबाट पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् ।
पुरुषोत्तम लाल झा वीरगंजमा चार पटक वडाध्यक्ष पदमा र एक पटक वीरगंजको उप मेयरमा निर्वाचित भई लामो राजनीतिक र सामाजिक सेवा क्षेत्रका अनुभवी व्यक्ति हुन् । पुरुषोत्तम झा लामो समयदेखि राजनीतिक पृष्ठभूमिबाट वीरगंजबासी माझ चिर परिचित अनुहारको रुपमा दमदार उम्मेदवारको रुपमा देखिएका छन् ।
उता पाँचदलीय गठबन्धनको तर्फबाट काँग्रेस पार्टीबाट उम्मेदवारी दिएका इम्तियाज आलम बिगतको चुनावमा आफ्नै वडामा पराजित भएका थिए । आलम विगतको चुनावमा पराजित भएपछि पार्टी वा राजनीतिक वा सामाजिक गतिविधिमा त्यत्ति क्रियाशील नदेखिएका कारण वीरगंजवासीमाझ त्यत्ति लोकप्रिय उम्मेदवारको रूपमा मानिदैनन् ।
वीरगंजवासीमाझ खासै लोकप्रिय नरहेपनि गठबन्धनमा रहेको कारण आफू नै जित्ने दाबी गर्ने मुस्लिम समुदायको प्रतिनिधि भएका कारण इम्तियाजलाई जिताउन मुस्लिम समुदायहरू संगठित देखिएका छन् ।
तर लोकतान्त्रिक समाजवादी पार्टीबाट उप प्रमुखका अर्का उम्मेदवार पुरुषोत्तम लाल झा वीरगंजवासीमाझ जत्ति नै लोकप्रिय भए पनि उनलाई मतदान गर्ने पक्षमा विभाजित देखिएको चर्चा छ । व्यक्तिगत छविका कारण बलियो उम्मेदवारका रुपमा देखिए पनि हिन्दूहरूको मत विभाजन हुने भएपछि चुनाव कसले जित्ने र कसले हार्ने ३० गते हुने मतदान पछिको मतगणना परिणामले देखाउने नै छ ।