२०८३ जेष्ठ १७ गते, आईतवार १२:०३

बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला

झापा । झापाको दमकमा बोरामा पोको पारिएको अवस्थामा एक महिलाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। मृतकको हालसम्म पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार बिहान करिब ११ बजे दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको हो। स्थानीयवासीले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार शव करिब दुई–तीन दिनअघि नै पानीमा बगाइएको वा फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकले रातो रङको भेस्ट लगाएकी थिइन् भने उनको उमेर करिब ३० देखि ३२ वर्षको बीचमा रहेको देखिएको छ। शवलाई सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा भेटिएको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अवस्थामै शवको पहिचान नखुलेको र घटनाका कारणबारे पनि यकिन हुन नसकेकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुको तस्वीरसमेत सार्वजनिक गर्दै शवको पहिचान खुलाउन सहयोग गर्न आग्रह गरेको छ। मृतकलाई चिन्न सक्ने अभिभावक, आफन्त, साथीभाइ वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

शंकास्पद परिस्थितिमा शव फेला परेकाले घटनाले थप रहस्य सिर्जना गरेको छ। प्रहरीले शवको पहिचान खुल्नेबित्तिकै घटनाको वास्तविकता उजागर गर्न सहज हुने विश्वास व्यक्त गरेको छ। हाल शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM