काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रमा शनिबार प्रहरी र लुटपाटमा संलग्न व्यक्तिबीच भएको मुठभेडका क्रममा प्रहरीले गोली चलाउँदा एक जना फरार कैदी घाइते भएका छन् भने एक प्रहरी कर्मचारी समेत घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्ने व्यक्ति काठमाडौँ महानगरपालिका–भद्रकाली निवासी गणेश कार्की हुन्। उनको बायाँ खुट्टामा गोली लागेको छ। घाइते कार्कीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ भने मुठभेडका क्रममा घाइते भएका प्रहरी कर्मचारीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै कार्कीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रतिरोध भएपछि जवाफी कारबाहीस्वरूप गोली प्रहार गरिएको हो।
प्रहरीका अनुसार शनिबार दिउँसो काठमाडौँको सुकेधारामा कार्की र उनका एक सहयोगीले एक महिलामाथि खुर्सानीको धुलो प्रहार गरी सुनको सिक्री लुटेर फरार भएका थिए। घटनापछि खोजी अभियान सञ्चालन गर्ने क्रममा प्रहरी टोलीसँग जडीबुटी क्षेत्रमा उनीहरूको जम्काभेट भएको थियो।
लुटपाट घटनामा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार गोली लागेर घाइते भएका कार्की भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका कैदी हुन्। उनी डाँकाचोरी मुद्दामा कारागार सजाय भोगिरहेका थिए। यसअघि पनि कपन क्षेत्रमा प्रहरीलाई खुर्सानीको धुलो छर्केर फरार भएको घटनामा उनको संलग्नता रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।














