२०८३ जेष्ठ १३ गते, बुधबार १५:३२

वीरगंज नगर प्रमुख सिंह पक्राउ पूर्जीपछि अदालत पुगेको ‘प्रचार’, तर हाजिर नभएको पुष्टि

– जलेश्वर सर्राफ

वीरगञ्ज । किर्ते कागजात तयार गरी अर्कै व्यक्तिकी छोरीलाई आफ्नै छोरीका रूपमा नागरिकता दिलाएको आरोपमा पक्राउ पूर्जी जारी भएका राजेशमान सिंह बुधबार जिल्ला अदालत पर्सा पुगेको भनिए पनि अदालत प्रशासनमा औपचारिक रूपमा हाजिर नभएको खुलेको छ।

मंगलबार जिल्ला अदालत पर्सा ले सिंहसहित चार जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि बुधबार बिहानै अदालत परिसरमा पुगेको भन्दै सिंह पक्षबाट फोटो तथा भिडियो सार्वजनिक गरिएको थियो। ती सामग्री सामाजिक सञ्जाल तथा केही मिडियामार्फत व्यापक रूपमा प्रसारण भएपछि उनले अदालतमा आत्मसमर्पण गरेको वा हाजिर भएको सन्देश दिन खोजिएको देखिन्छ।

तर अदालत स्रोतका अनुसार सिंह अदालत परिसरभित्र पुगे पनि प्रशासन शाखामा औपचारिक रूपमा हाजिर नभई फर्किएका थिए।

यस विषयमा बुझ्न खोज्दा अदालतका सूचना अधिकारी जय नारायण यादव ले नगर प्रमुख सिंह प्रशासनमा हाजिर नभएको पुष्टि गरे।

उनका अनुसार सिंह अदालत परिसरमा आएको जानकारी भए पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रशासन शाखामा दर्ता नभएको अवस्था रहेको छ।

“उहाँ अदालत आउनुभएको भन्ने जानकारी छ, तर प्रशासनमा हाजिर गराइएको छैन,” सूचना अधिकारी यादवले भने, “म घरतर्फ गएको थिएँ। बुझ्दा उहाँ आउनुअघि नै अन्य केही फाइलहरू प्रक्रियामा रहेकाले पालो नपाएको हुनसक्ने कुरा आएको छ।”

तर पक्राउ पूर्जी जारी भइसकेका व्यक्तिले अदालत परिसरमा प्रवेश गरेर औपचारिक हाजिरी नै नगरी बाहिरिन मिल्ने हो वा होइन भन्ने प्रश्नमा यादवले स्पष्ट रूपमा “त्यसरी मिल्ने होइन” भने।

“कसरी आउनुभयो, कसरी जानुभयो भन्ने विषयमा म आफैं स्पष्ट छैन,” उनले प्रतिक्रिया दिए।

यस घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्था, पक्राउ पूर्जी कार्यान्वयनको प्रक्रिया तथा प्रभावशाली व्यक्तिहरूमाथि हुने व्यवहारलाई लिएर कानुनी वृत्तमा समेत प्रश्न उठ्न थालेको छ।

कानुन व्यवसायीहरूका अनुसार पक्राउ पूर्जी जारी भइसकेपछि सम्बन्धित व्यक्ति अदालत वा अनुसन्धान निकायमा उपस्थित हुँदा निर्धारित प्रक्रिया अनुसार हाजिरी दर्ता, बयान वा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनुपर्ने हुन्छ। केवल अदालत परिसरमा पुगेर फोटो-भिडियो सार्वजनिक गर्नु कानुनी उपस्थितिको प्रमाण नहुने उनीहरूको भनाइ छ।

उक्त प्रकरणमा राजेशमान सिंह माथि किर्ते कागजात तयार गरी नागरिकता दिलाउन सहयोग गरेको आरोप छ। सोही आरोपमा अदालतले मंगलबार पक्राउ पूर्जी जारी गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM