२०८३ जेष्ठ १२ गते, मंगलवार २०:३७

भारतीय पर्यटकको उल्लेख्य वृद्धि, धार्मिक पर्यटन चलायमान : अध्यक्ष बराल

काठमाडौं । भारतमा अत्यधिक गर्मी बढेसँगै त्यहाँका विभिन्न राज्यमा विद्यालय तथा सरकारी कार्यालयहरूमा बिदा दिइन थालेपछि नेपाल आउने भारतीय पर्यटक तथा तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । पछिल्ला दिनमा विशेषगरी पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ , बौद्धनाथ तथा डोलेश्वर महादेव लगायत धार्मिक तथा पर्यटकीय स्थलहरूमा भारतीय भक्तजनको चहलपहल बढेको छ ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालका अनुसार भारतमा बढ्दो तापक्रमका कारण गर्मी छल्न भारतीय पर्यटकहरूले नेपाललाई नजिकको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रोज्न थालेका हुन् । उनका अनुसार बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, दिल्ली तथा राजस्थानलगायत क्षेत्रबाट परिवारसहित नेपाल आउने पर्यटकको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा वृद्धि भएको छ ।

बरालका अनुसार पशुपति क्षेत्र आसपासका होटल, गौशाला, सिनामंगल, एयरपोर्ट तथा काठमाडौं उपत्यका भित्र रहेका होटलहरूमा समेत भारतीय पर्यटकको चाप बढेको प्रति होटल ब्यवसाही उत्साहित रहेका छन् । तर, पनी पशुपति क्षेत्र आसपासमा शुद्ध शाकाहारी होटलको पर्याप्त व्यवस्था नभएकाले केही पर्यटकले खानपानमा समस्या भोग्नुपरेको गुनासो आउने गरेको उनले बताए । यसतर्फ व्यवसायीहरूले शुद्ध शाकाहारी होटलको विस्तार र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तै, काठमाडौं उपत्यका भित्र धार्मीक पर्यटक क्षेत्रहरूमा भारतीय नम्बर प्लेटका गाडीहरूमा यात्रु चढाउने–ओर्लाउने क्रममा ट्राफिक प्रहरीले कारबाही गर्ने तथा चिट काट्ने गरेको गुनासो व्यवसायीहरूले गरेका छन् । उनीहरूका अनुसार यसले पर्यटकमा नकारात्मक सन्देश जाने गरेको छ । यस विषयमा सुधार आवश्यक रहेको भन्दै व्यवसायीहरूले स्पष्ट र एकीकृत ट्राफिक व्यवस्थापन नीति लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

एयरपोर्ट क्षेत्रका व्यवसायीहरुका अनुसार, एयरपोर्ट, गौशाला र शम्भुमार्ग जस्ता क्षेत्रमा पर्यटकका लागि छुट्टै पिक यण्ड ड्रप जोन तोकिनुपर्ने, अनावश्यक कारबाहीभन्दा पनि सहजीकरणमुखी व्यवस्था अपनाइनुपर्ने, ट्राफिक नियमको स्पष्ट सूचना प्रणाली र समन्वयात्मक व्यवस्थापन आवश्यक रहेको उनीहरूको सुझाव छ ।

साथै, नेपाल प्रवेशपछि विभिन्न स्थानमा हुने पटक–पटकको सुरक्षा जाँचका कारण भारतीय पर्यटकले सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको छ । व्यवसायीहरूका अनुसार सुरक्षा संवेदनशीलताका कारण चेकजाँच आवश्यक भए पनि छोटो दूरीमै दोहोरिने जाँचले यात्रुहरूलाई असुविधा हुने गरेको छ ।

“सुरक्षाका लागि चेकजाँच आवश्यक हो, तर ४–५ किलोमिटरको दूरीमै पटक–पटक रोकिँदा पर्यटकमा नकारात्मक सन्देश जाने गरेको छ,” बरालले भने ।

व्यवसायीहरूले सीमादेखि काठमाडौंसम्मको यात्रालाई सहज, व्यवस्थित र पर्यटकमैत्री बनाउन सरकारसँग आग्रह गरेका छन् । अनावश्यक झन्झट घटाउँदै एकीकृत र प्रभावकारी सुरक्षा प्रणाली लागू गर्न सके धार्मिक पर्यटन अझ विस्तार हुने र नेपाललाई अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनीहरूको विश्वास छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM