२०८३ बैशाख २६ गते, शनिबार २०:०४

सत्ताको स्वार्थका लागि विधिको ‘छेडखानी’ सह्य हुँदैन: कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर, त्रास र प्रभावमा नपरी निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरेकी छन्।

शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै उनले शक्ति र सत्ताको दबाबमा परेर न्यायको मर्ममाथि प्रहार गर्न नहुने स्पष्ट पारिन्। उनले चाहे दुई तिहाइ बहुमतको सरकार होस् वा महाभियोगको धम्की, यस्ता कुनै पनि डरबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई सार्वजनिक मञ्चबाटै आग्रह गरिन्।

सम्बोधनका क्रममा कामु प्रधानन्यायाधीश मल्लले पछिल्लो समय राज्यका अंगहरूमा बढ्दै गएको स्वेच्छाचारिता र विधिको शासनमाथि भइरहेको प्रहारप्रति कडा चिन्ता व्यक्त गरिन्।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा वरिष्ठता र स्थापित परम्परालाई लत्याउँदै चौथो नम्बरका न्यायाधीशलाई सिफारिस गरेको सन्दर्भलाई संकेत गर्दै उनले वैधानिक परम्पराको हत्या गरी स्वार्थ प्रेरित कार्य हुनुले निरंकुशताको झझल्को दिने टिप्पणी गरिन्। उनले औचित्यताको नाममा विधिमा छेडछाड गर्ने कार्य शासकका लागि स्वाभाविक लागे पनि विधिको शासनमा विश्वास गर्नेहरूका लागि यो कहिल्यै सह्य नहुने चेतावनी दिइन्।

संवैधानिक नैतिकता र संविधानवादभन्दा माथि कोही पनि हुन नसक्ने जिकिर गर्दै मल्लले आज्ञाकारी न्यायपालिका बनाउने दुष्प्रयास भइरहेको त छैन भन्दै गम्भीर प्रश्न उठाइन्।

न्यायको अन्तिम गन्तव्यलाई आफ्नो स्वार्थ संरक्षण गर्ने मुकुण्डो बनाउन खोजिएकोमा आपत्ति जनाउँदै उनले भनिन्, “एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, त्यसैले विधिको शासन विरुद्ध षड्यन्त्र गर्नेहरू विरुद्ध उठ्ने आँट र प्रतिबद्धता हामी सबैले देखाउनुपर्छ।” उनले संरचना भत्काएर सत्ताको धीत मार्ने कामले नागरिकको न्याय पाउने सपना भंग हुने तर्फ सचेत गराइन्।

न्यायपालिकाको कार्यक्षमताका बारेमा उठ्ने गरेका प्रश्नहरूको जवाफ दिँदै मल्लले न्यायपालिका सरकारको ‘स्पिड’ र संविधानको ‘स्पिरिट’ मा चल्न तयार रहेको तर त्यसका लागि न्यायक्षेत्रलाई स्रोत र साधनले सम्पन्न बनाउनुपर्नेमा जोड दिइन्।

आफू कानुन व्यवसायी हुँदादेखि नै विभेद र अन्याय विरुद्धको लडाइँमा रहेको स्मरण गर्दै उनले सक्षम र स्वच्छ न्यायका लागि अझै धेरै लड्न बाँकी रहेको बताइन्। यस चुनौतीपूर्ण घडीमा संविधानवाद, नागरिक हक र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि नेपाल बार एशोसिएशन, सञ्चार जगत् र नागरिक समाज लगायत सबै सरोकारवालाहरूलाई एकताबद्ध हुन उनले अपिल समेत गरिन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM