२०८३ बैशाख २५ गते, शुक्रबार १४:३९

प्रधानन्यायाधीश सिफारिसको असर सर्वोच्चमा, दैनिक पेशी सूची गायब

काठमाडौं । सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सिफारिसलाई लिएर उत्पन्न असन्तुष्टिका कारण दैनिक पेसी व्यवस्थापन कार्य प्रभावित भएको छ। वरीयता र स्थापित परम्परा मिचेर चौथो नम्बरमा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्चका न्यायाधीशहरूबीच तीव्र असन्तुष्टि देखिएको हो।

यसअघि सामान्यतया बिहान साढे ९ देखि पौने १० बजेभित्रै सार्वजनिक हुने दैनिक पेसी सूची शुक्रबार बिहान ११ बज्दासम्म पनि सार्वजनिक हुन सकेको छैन। संवैधानिक परिषद्को निर्णयका कारण उत्पन्न परिस्थितिले गर्दा गोला प्रक्रिया मार्फत मुद्दाको बाँडफाँड गर्ने कार्य रोकिएको सर्वोच्च स्रोतले जनाएको छ।

प्रधान न्यायाधीश सिफारिसपछिको अवस्था र न्यायपालिकाको गरिमाका विषयमा छलफल गर्न न्यायाधीशहरू र सर्वोच्च प्रशासनका उच्च अधिकारीहरूबीच आन्तरिक बैठक चलिरहेको बताइएको छ। “भित्र छलफल जारी छ, न्यायाधीशहरू गोला तान्न तयार नभएसम्म पेसी सूची सार्वजनिक हुन सक्दैन,” पेसी व्यवस्थापन शाखाका एक कर्मचारीले बताए।

वरीयतामा अगाडि रहेका न्यायाधीशहरूलाई पन्छाएर चौथो वरीयताका न्यायाधीशलाई नेतृत्वका लागि सिफारिस गरिनुलाई न्याय क्षेत्रमा ‘स्थापित पद्धतिमाथिको प्रहार’ का रूपमा हेरिएको छ। न्यायाधीशहरूको सामूहिक अडानका कारण आजको नियमित इजलासहरू बस्ने वा नबस्ने भन्नेमा अन्योल उत्पन्न भएको छ।

यस घटनाले सर्वोच्च अदालतको नियमित कार्यसम्पादनमा मात्र नभई समग्र न्यायपालिका र राजनीतिक नेतृत्वबीचको सम्बन्धमा समेत नयाँ बहस सिर्जना गरेको छ।

(डिसी नेपाल)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM