२०८३ बैशाख ११ गते, शुक्रबार १३:०८

मेनरोड तोडफोडको त्रासदी : वीरगंजमा डेरा गुमाएका व्यवसायीको हृदयघातबाट मृत्यु

वीरगंज/सडक विस्तारका नाममा गरिएको आकस्मिक तोडफोडले वीरगंजमा एक व्यवसायीको ज्यानै लिएको छ। सडक विभागको निर्देशनअनुसार २५/२५ मिटर बाटो फराकिलो गर्ने क्रममा घन्टाघरस्थित मेनरोडमा डेरा भाडामा बस्दै आएका मुरारी लाल बजाज घरबारविहीन बनेपछि आघात सहन नसकी हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सडक विभागले पर्याप्त समय नदिई हतारमा संरचना हटाउन थालेपछि बजाज तत्काल वैकल्पिक डेरा व्यवस्थापन गर्न असमर्थ भएका थिए। परिवारका अनुसार घरबार गुमाएको मानसिक दबाबकै बीच गएराति उनलाई हृदयघात भएको हो।

स्थानीयवासीका अनुसार २४ घन्टाको पनि समय नदिई गरिएको तोडफोडले मानवीय संवेदनामाथि नै प्रहार गरेको छ। वीरगंजको मुख्य व्यापारिक क्षेत्र मानिने मेनरोडमा करिब १२ सय संरचना हटाइएको छ, जसका कारण झन्डै ४८०० घरपरिवार तथा साना-ठूला व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन्।

मृतक बजाज शारीरिक रूपमा अशक्त समेत रहेको र आदर्शनगरस्थित रुङ्गटा मार्केटमा ‘मुरारी स्टोर्स’ सञ्चालन गर्दै आएका थिए। उनीजस्ता दैनिक आम्दानीमा निर्भर व्यवसायीहरू अचानक विस्थापित हुँदा जीवनयापनमै संकट परेको स्थानीय व्यापारीहरूको गुनासो छ।

सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भए पनि कार्यान्वयनको शैली अमानवीय भएको भन्दै नागरिक समाजले आपत्ति जनाएको छ। पूर्वतयारी, पर्याप्त समय र वैकल्पिक व्यवस्थाविना गरिएको यस्तो कदमले मानवअधिकार उल्लंघनको प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।

घटनाले विकास र मानवीय संवेदनाबीचको सन्तुलन गम्भीर रूपमा विचलित भएको संकेत दिएको छ, जसले अब सरकारी निर्णय प्रक्रियामाथि नै प्रश्न खडा गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM