काठमाडौँ/कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन्।
बिहीबारदेखि नै लागू हुने गरी उनले राजीनामा दिएको कान्तिपुरले जनाएको छ।
कान्तिपुरका अनुसार उनले कान्तिपुर मिडिया ग्रुपका सबै कर्मचारीलाई सम्बोधन गरेर राजीनामा दिएको सन्देश पठाएका छन्।
कान्तिपुरले लेखेको छ, ‘सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ –विशेषगरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचार– मा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन्। उनले आरोपहरूलाई सनसनीपूर्ण बनाउँदै प्रस्तुत गरिएको भन्दै लेखेका छन्, ‘मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ।’
कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट गृहमन्त्री गुरूङको शंकास्पद कारोबारका विवरण प्राप्त गरेर सार्वजनिक गरेको जनाएको छ।
‘त्यसमा त्यतिन्जेलसम्म ती विवरणमा उल्लेख तथ्य र अनुत्तरित प्रश्न समेटेको थियो,’ कान्तिपुरले लेखेको छ।
सम्भवले भने नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा लेखेको पनि कान्तिपुरले आफ्नो समाचारमा जनाएको छ।
सम्भवले बिहीबार बिहान कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जालमा राखेका गृहमन्त्री गुरुङबारेका समाचारका लिंक र त्यसबारे स्क्रिनसट आफ्नो सामाजिक सञ्जालमा राखेका थिए।
त्यसमा उनले ‘यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन’ लेखेका थिए। सम्भव २०८० असोजमा कान्तिपुर ग्रुपका प्रबन्ध निर्देशक नियुक्त भएका थिए।
त्यसअघि उनी प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।
सम्भवअघि उनका बुबा कैलाश सिरोहिया प्रबन्ध निर्देशक थिए। कैलाश हाल संस्थाको अभिभावकीय भूमिकामा छन्।















