काठमाडौं । राष्ट्रपति कार्यालयले संघीय संसदको अधिवेशन आह्वान गरेको भोलिपल्टै स्थगित गरेपछि राजनीतिक वृत्तमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो। तर, त्यसको भोलिपल्टै पुनः मन्त्रिपरिषद्कै अर्को सिफारिसका आधारमा उक्त अधिवेशन “विशेष कारणवश” भन्दै हालका लागि स्थगित गरिएको नयाँ विज्ञप्ति जारी गरिएको छ।
सरकारकै सिफारिसमा भएको आह्वान र त्यसको तत्काल स्थगनले सत्ता सञ्चालनको निर्णय प्रक्रियामाथि नै प्रश्न उठाएको छ। २४ घन्टा बित्न नपाउँदै दुई विपरीत निर्णय आउनुले सरकारको रणनीति, आन्तरिक समन्वय र राजनीतिक स्थायित्वप्रति शंका पैदा गरेको विश्लेषकहरू बताउँछन्।
विशेष कारण के हो भन्नेबारे स्पष्ट खुलासा नगरिएकाले अझै संशय बढेको छ। संसद् बोलाउने जस्तो संवैधानिक प्रक्रियामा देखिएको यस्तो उतार-चढावलाई सामान्य प्रशासनिक निर्णयभन्दा बढी राजनीतिक संकेतका रूपमा हेरिएको छ।
संसद अधिवेशन आह्वान र स्थगनको यो घटनाले सरकारभित्रको आन्तरिक शक्ति संघर्ष, सम्भावित राजनीतिक समीकरण फेरबदल वा महत्वपूर्ण निर्णयहरूमा सहमति अभाव रहेको संकेत गरेको बुझाइ राजनीतिक वृत्तमा बढ्दो छ।
संसद किन बोलाइयो? र किन रोकियो?
यसको जवाफ सरकारसँगै समयले दिनेछ।
















