जनकपुरधाम/मधेश प्रदेश प्रहरी कार्यालयले एक प्रहरी जवानसँग सम्बन्धित विषयलाई लिएर विभिन्न अनलाइन माध्यममा प्रकाशित समाचारहरूलाई ‘भ्रामक र आधारहीन’ भन्दै गम्भीर आपत्ति जनाएको छ।
कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनुषाको जनकपुरधामस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रोशन यादवसँग जोडेर सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोसहित प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। उक्त सामग्रीमा डिआइजीको नाम जोड्दै “घुमुवा आतंक कहिले रोकिन्छ, डिआइजी साप” भन्ने आशयका शीर्षक र सन्देशहरू सार्वजनिक गरिएको उल्लेख गर्दै प्रहरी कार्यालयले त्यसलाई तथ्यहीन प्रचारको संज्ञा दिएको छ।
प्रहरीका अनुसार सम्बन्धित विषयमा स्पष्टिकरण लिन प्रहरी जवान यादवलाई कार्यालयमा बोलाइएको भए पनि उनी त्यसपछि कार्यालयको सम्पर्कमा नरहेको जनाइएको छ। यद्यपि त्यसपछि विभिन्न सञ्चारमाध्यममा “डिआइजीको कार्यशैलीकै कारण प्रहरी जवानद्वारा आत्महत्याको प्रयास” जस्ता समाचारहरू प्रकाशनमा आउनुले कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
कार्यालयले यस्ता समाचारहरूले प्रहरी संगठन र कर्मचारीको प्रतिष्ठामा आघात पुग्ने बताउँदै कुनै पनि आधारबिना व्यक्तिको चरित्रमाथि आक्रमण हुने गरी सामग्री प्रकाशन नगर्न आग्रह गरेको छ। साथै, सम्बन्धित प्रहरी जवानलाई कार्यालयबाट कुनै किसिमको मानसिक दबाब नदिएको स्पष्ट पार्दै उनी बाहिरिएपछि मात्र यस्ता सामग्रीहरू सार्वजनिक भएको दाबी गरिएको छ।
यसैबीच, घटनासँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सुरक्षित राखिएको जनाउँदै प्रहरीले आवश्यक परे प्रमाणसहित तथ्य सार्वजनिक गरिने जनाएको छ। सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन गर्दा पत्रकारिताका न्यूनतम मापदण्ड, आचारसंहिता र तथ्य पुष्टि गर्ने प्रक्रियाको पालना गर्न पनि आग्रह गरिएको छ।
















