२०८३ बैशाख १० गते, बिहीबार १५:५६

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं/वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति लामा, चन्द्रागिरी बस्ने उदयपुर घर भएका ४९ वर्षीय विष्णु बुढाथोकी र कीर्तिपुर नगरपालिका-१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन्।

पक्राउ मध्ये शक्तिले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जनाबाट २६ लाख ६३ हजार ७ सय १० रूपैयाँ, विष्णुले ब्रुनाई पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ५० हजार रूपैयाँ र सुस्मिताले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जनाबाट १७ लाख ठगी गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विष्णुलाई काठमाडौँ महानगरपालिका-९ बाट मंगलबार, सुस्मितालाई कीर्तिपुर नगरपालिका-१० बाट र शक्तिलाई काठमाडौँ-१५ डल्लुबाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM