२०८३ बैशाख १० गते, बिहीबार १४:३१

ब्राउन सुगरसहित चार जिल्लाबाट आठ जना पक्राउ

विराटनगर/झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका–११ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी तथा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको संयुक्त टोलीले स्थानीय २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनीहरू प्रयोग गर्दै आएको बा. ४० प ३९९४ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–६ का हरीबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मोरङको विराटनगर–१६ मा गरिएको चेकिङका क्रममा इलाका प्रहरी कार्यालय रानी, सीमा प्रहरी इकाइ र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले सुन्दरहरैचा–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

उदयपुरमा पनि प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै बेलका नगरपालिका–१ बाट स १० प ७८०१ नम्बरको मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM