काठमाडौं । सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् । सुधनको राजीनामासँगै गृहमन्त्रीमा रास्वपा सभापति रवि लामिछानेको कोटाबाट मनिषकुमार झा, दीपक बोहरा, कविन्द्र बुर्लाकोटीको चर्चा भइरहेको छ ।
ओखलढुंगाका सांसद तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलदेखि महानगर प्रहरीका पूर्व एसपी राजुनाथ पाण्डेले पनि गृहमन्त्री हुने चर्चा मिडियामा चलाइरहेका छन् । तर प्रधानमन्त्री वालेन्द्र शाहले भने आफ्ना महानगरको मेयर हुँदादेखिका मुख्य सल्लाहकार रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई नयाँ गृहमन्त्री बनाउने चर्चा भइरहेको छ ।
प्रधानमन्त्री शाहले सभापति लामिछानेनिकट बुर्लाकोटी, झादेखि बोहरासम्म कसैलाई पनि गृहमन्त्री बनाउने पक्षमा नभएको बताइन्छ । उनी गृहमन्त्रीमा आफ्ना विश्वासपात्र लम्साललाई बनाउने र भौतिक पूर्वाधार मन्त्रीमा सुशान्त बैदिकलाई जिम्मेवारी दिने पक्षमा रहेको स्रोत बताउँछ ।
रास्वपामा रविको कोरटिमका रुपमा ग्यालेक्सी गुट, मनिष झा र डा. स्वर्णिम वाग्लेहरुको कांग्रेस आयातित गुट र चुनावको मुखमा आएको वालेन्द्र शाह गुटमध्ये सरकारमा तेस्रो गुट बलियो देखिएको छ । ग्यालेक्सी गुटका दीपक बोहराहरु रुष्ट छन् भन्ने कुरा त प्रमोद न्यौपानेहरुले सामाजिक संजालमा पोखेको असन्तुष्टिले पनि पुष्टि गरिरहेको छ ।
सुनिल लम्साललाई गृहमन्त्री बनाए कमलकिशोर मालपानीको कनेक्सनले उनी पनि सुधन गुरुङजस्तै ब्यवसायी दीपक भट्टसँग जोडिने जोखिम देखिन्छ । प्रतिनिधिसभाको चुनावमा मालपानीसँग भन्सारछली गरी आयात गरिएको ७ करोड मूल्यको डिफेन्डर वालेन्द्र शाहको प्रचारका लागि सुनिल लम्सालले नै मागेर लगेका थिए ।
विवादित व्यवसायी कमलकिशोर मालपानीले ७-८ वर्ष पुरानो टोयोटा ल्याण्डक्रुजर लैजान आग्रह गर्दा समेत बालेन्द्र शाह ‘बालेन’का निकट लम्सालले नयाँ ल्याण्डरोभर डिफेन्डर नै मागेर लगेका थिए । मालपानीका छोरा नितेश मालपानी सुनिल लम्सालका मिल्ने साथी भएकाले उनले वालेनका लागि उक्त गाडी दिएका थिए । जुन गाडीको बिषयमा पत्रकार इश्वर अर्यालले रहस्य खोलिदिएपछि ठूलो विवादमात्र भएन । उक्त गाडी भन्सारछली गरी ल्याएको समेत भेटियो ।
साभार : नेपाल फेस















