२०८३ बैशाख ८ गते, मंगलवार १३:३८

सुशासनको लडाइँमा डिआइजी थपलिया: आपराधिक सञ्जालको निशानामा

काठमाडौं/मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियालाई लक्षित गर्दै पछिल्ला दिनहरूमा विभिन्न आरोप र विवादहरू सतहमा ल्याइए पनि ती आरोपहरूका पछाडि संगठित स्वार्थ समूह सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ।

चन्द्रसूर्य वाणी दैनिकसँगको कुराकानीमा डिआइजी थपलियाले मधेश प्रदेशमा वर्षौँदेखि जरा गाडेर बसेका आपराधिक मानसिकताका केही प्रहरी कर्मचारीविरुद्ध आफूले कडा कदम चालेपछि नै आफूलाई विवादमा तान्ने प्रयास भएको स्पष्ट पारे।

उनका अनुसार, अघिल्ला सरकारहरूको पालादेखि नै अपराधी, तस्कर र बिचौलियासँग साँठगाँठ गर्दै आएका केही प्रहरीहरूले राजनीतिक संरक्षण र आर्थिक लेनदेनका आधारमा बारम्बार मधेशमै सरुवा मिलाउँदै प्रभाव कायम राख्दै आएका थिए। “यस्ता बद्नामी र विवादित गतिविधिमा संलग्न प्रहरीहरूलाई मैले सुरुदेखि नै पहिचान गरी हटाउने काम थालेको छु,” उनले भने।

डिआइजी थपलियाले हालसम्म उजुरीका आधारमा १८७ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी दिए। तीमध्ये केहीलाई प्रदेश बाहिर सरुवा गरिएको छ भने बाँकीलाई गण तथा अन्य जिल्लामा पठाइएको छ।

उनले भने, “यही कदमका कारण केही समूहको निद हराम भएको छ। उनीहरू पुनः पुरानै शैलीमा फर्किन चाहन्छन् र त्यसका लागि मलाई हटाउने योजनामा सक्रिय छन्।”

उनका अनुसार आफूविरुद्ध सुनियोजित रूपमा झुट्टा तथा भ्रामक समाचार प्रकाशन गराउने, बनावटी अडियो तयार गरी अफवाह फैलाउनेजस्ता गतिविधि भइरहेको छ। “केही बिचौलिया पत्रकार र असन्तुष्ट प्रहरीबीचको मिलेमतोमा यस्तो भइरहेको छ,” उनले आरोप लगाए।

डिआइजी थपलियाले एक घटनाको उदाहरण दिँदै भने, “एक जना प्रहरी घुमुवा बस्न चाहन्थे। उनको पृष्ठभूमि हेरेर मैले अस्वीकार गरेपछि उनी नै मेरो विरुद्ध मिडियाबाजीमा लागेका छन्।”

उनले यस्ता प्रवृत्तिलाई नियन्त्रण नगरेसम्म मधेशमा सुशासन र न्याय स्थापना असम्भव हुने चेतावनी दिए। “दशकौँदेखि जरा गाडेका आपराधिक मानसिकताका तत्वलाई छानी–छानी कारबाही नगरे प्रहरी संगठनभित्र सुधार सम्भव हुँदैन,” उनले भने।

थपलियाले संगठनभित्र अनुशासन कायम राख्न चेन अफ कमाण्ड मजबुत हुनुपर्नेमा जोड दिँदै, “यदि गलत काममा संलग्नमाथि कारबाही गर्न खोज्दा उल्टै माथिल्लो अधिकारीलाई बदनाम गरिन्छ भने यसले संगठनको मनोबलमा गम्भीर असर पार्छ,” उल्लेख गरे।

उनका अनुसार अहिलेको समय प्रहरी संगठनलाई शुद्धीकरण गर्दै मधेशमा न्याय र सुशासन स्थापित गर्ने उपयुक्त अवसर हो।

डिआइजी थपलियामाथि उठाइएका कृत्रिम विवादहरू केवल व्यक्तिगत आक्रमण नभई, प्रहरी संगठनभित्रको सुधार प्रयासविरुद्धको प्रतिरोधका रूपमा देखिएको छ। मधेशमा दीर्घकालीन रूपमा जरा गाडेका विकृत प्रवृत्तिविरुद्धको संघर्षमा उनी कति सफल हुन्छन् भन्ने कुरा आगामी दिनहरूले स्पष्ट पार्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM