काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को ठूला भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । झन्डै एक दशक काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त भएर अकूत कमाएका भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अधिकारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार तिवारीको २०४४ सालदेखि २०७८ सालसम्मको सेवावधिमा वैधानिक आम्दानी १४ करोड ५५ लाख ९१ हजार रुपैयाँमात्रै देखिएको छ । तर सोही अवधिमा उनको खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार रुपैयाँ पुगेको पाइएको छ। यसरी हेर्दा आम्दानीभन्दा १० करोड ५४ लाख रुपैयाँ बढी खर्च भएको निष्कर्ष आयोगले निकालेको छ ।
अनुसन्धानका क्रममा तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति आफ्नी श्रीमती मीनादेवी तिवारी र छोरी मीराको नाममा समेत राखेको भेटिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ । आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगोबराबर जरिवाना, कैद तथा थप सजायको माग गरेको छ । साथै, झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा पनि कारबाही माग गरिएको छ ।
















