काठमाडौं । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनलाई बुधबार इरानी पक्षले रिहा गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा रिहा भइसकेका छन्। इरानस्थित नेपाली कन्सुलर कार्यालयसँगको समन्वयपछि उनको रिहाइ भएको जानकारी दिइएको छ। सरकारले उनको रिहाइबारे परिवारलाई समेत औपचारिक जानकारी गराइसकेको छ।
झाका भिनाजु राजेश झाले सरकारी निकायबाट केहीबेरअघि नै अमृत रिहा भएको सूचना प्राप्त भएको बताएका छन्।
झा इजरायल-अमेरिका र इरानबीच तनाव बढ्नु अघि इन्धन ल्याउने क्रममा इरान पुगेका थिए। दुबईस्थित एक जलयात्रा कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल बोकेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए।
दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीअन्तर्गत जहाजमा क्याप्टेनको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनीसँगै केही भारतीय नागरिकहरू पनि सोही घटनामा पक्राउ परेका थिए।
सरकारी पहल र कूटनीतिक समन्वयपछि उनको रिहाइ सम्भव भएको जनाइएको छ। स्रोत : अनलाइन खबर
















