काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले नयाँ वर्ष २०८३ को अवसर पारेर क्यालेन्डर विमोचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम होटल पालज्ञामा आयोजना गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला प्रमुख अतिथिका रूपमा उपस्थित भई क्यालेन्डर विमोचन गरेका थिए। संघका अध्यक्ष सुरेश बरालको सभापतित्वमा सम्पन्न कार्यक्रम राष्ट्रिय गानसँगै पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सुरु गरिएको थियो।

कार्यक्रमको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष भविश्वर दुवेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि प्रमुख अतिथि निरौलासहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले पर्यटन तथा होटल व्यवसायको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। प्रमुख अतिथि निरौलाले होटल तथा पर्यटन क्षेत्रको विकासमा देखिएका कानुनी जटिलताहरू परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरोकारवालाको सहभागितामा कार्यदल गठन गरिने जानकारी दिए। उनले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्ने सरकारको नीति रहेको पनि स्पष्ट पारे।

त्यसैगरी, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा देखिएका समस्या तथा चुनौतीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी चरणबद्ध रूपमा समाधान गरिने बताए।
कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरु थापा, महासचिव टी.आर. भण्डारी (शंकर), होटल संघ नेपालका महासचिव साजन शाक्य, गोर्खा ब्रुअरी प्रा.लि. का सेल्स डाइरेक्टर काजीमान सुब्बा तथा नेपाल ग्रीस तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवा लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै होटल तथा पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, व्यावसायिक एकता र दिगो व्यवस्थापनमा जोड दिएका थिए।

यसैगरी, बागमती प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष दामोदर नेपाल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम सुब्बा चेम्जोङ तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रतिनिधि पूर्ण चुडालले पनि आफ्नो धारणा राखेका थिए।
कार्यक्रमकै अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट प्रवक्तामा चयन भएका सोम सापकोटालाई सम्मान गरिएको थियो।
क्यालेन्डर प्रकाशन उपसमितिका संयोजक तथा उपाध्यक्ष कुमार श्रेष्ठले कार्यक्रम व्यवस्थापनबारे जानकारी दिएका थिए। समापनका क्रममा अध्यक्ष बरालले प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्था, सहयोगी निकाय, विज्ञापनदाता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आगामी चैत २७ र २८ गते पोखरामा आयोजना हुने नेपाल होटल व्यवसायी महासंघको कार्यक्रममा देशभरका व्यवसायीलाई एकताबद्ध भई सक्षम र इमान्दार नेतृत्व चयनतर्फ अग्रसर हुन आग्रह गरे।
कार्यक्रम संघका महासचिव शैलेन्द्र विक्रम थापाले सञ्चालन गरेका थिए।
















