२०८३ असार २७ गते, शनिबार २०:२९

पक्राउ पुर्जी माग्दा प्रहरीले कुटपिट गरेको जेनजी अभियन्ता माजिद अंसारीको आरोप

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले पक्राउ गर्ने क्रममा दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोप लगाएका छन्।

अन्सारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार प्रहरीले पक्राउ गर्ने क्रममा आफूले “मलाई पक्राउ पुर्जी दिनुस्” भनेपछि प्रहरी कर्मचारीले असभ्य भाषा प्रयोग गरेको र विद्यार्थी जीवनमा राजनीति नगर्न भन्दै धम्कीपूर्ण शैलीमा बोलेको दाबी गरेका छन्।

उनका अनुसार प्रहरी कर्मचारीले “तँलाई घरबाट बाबुले पढ् भनेर पठाएको, राजनीति गर्छस् ? बढ्ता नहु, पढ्, पढेर जान्ने हु। विद्यार्थी जीवनमा राजनीति नगर्” भन्दै औँला ठड्याएर बोलेका थिए।

अन्सारीले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै गृहमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले राज्यका सुरक्षा निकायबाट नागरिक र अभियन्तामाथि हुने व्यवहार मर्यादित र कानुनसम्मत हुनुपर्ने बताएका छन्।

घटनाबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका छन् भने, घटनाको वास्तविक अवस्था बुझ्न सम्बन्धित प्रहरी निकायको आधिकारिक धारणा आवश्यक देखिएको छ।

अन्सारीले लगाएका आरोपबारे प्रहरीले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM