रौतहट/रौतहटको गौर स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ मातहत रहेको सीमा सुरक्षा गुल्म हेड क्वाटर गौरको नवनिर्मित भवन आइतवार एक समारोहका बीच उदघाटन गरिएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले आईतवार भवन उदघाटन गर्दै सीमाक्षेत्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए ।
डिआइजी ढकालले आफू यस जिल्लाको कमाण्ड सम्हालेको अनुभव स्मरण गर्दै यहाँको भौगोलिक अवस्था र स्थानीय नागरिकको भूमिकाबारे पूर्ण रुपमा जानकार रहेको उल्लेख गरे ।
उनले सीमामा रहेका बोर्डर आउट पोस्ट (बीओपी) हरूमा भौतिक पूर्वाधारको अभावबारे संगठन पूर्ण सचेत रहेको र विनियोजित बजेटअनुसार क्रमशः आफ्नै भवन निर्माण भइरहेको स्पष्ट पारे ।
निर्माण सम्पन्न भईरहेका नयाँ भवन नेपाली जनताको करबाट निर्माण भएको स्मरण गराउँदै संगठन प्रति इमान्दारी पूर्वक काम गर्न निर्देशन दिए ।
“संगठनको मर्म विपरीत कार्य गर्ने जो–कोही पनि कारबाहीको दायरामा आउने छन्,” उनले चेतावनी दिए । साथै सीमाक्षेत्रमा जीविकोपार्जनका लागि सानो परिमाणमा सामान ल्याउने गतिविधिलाई तस्करीसँग नजोड्नु पर्ने तर्क राखे तर ती गतिविधिलाई कानुनी दायरामा ल्याएर भन्सार मार्फत राजस्व तिराउने तर्फ प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमाक्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको योगदानको प्रशंसा गर्दै भौतिक पूर्वाधार अभावका बीच पनि उनीहरूले दिएको सेवाप्रति सम्मान व्यक्त गरे । उनले सीमाको अनुगमनका क्रममा सुरक्षाकर्मीहरूले कठिन परिस्थितिमा काम गरिरहेको देखेको उल्लेख गर्दै उनीहरूको सुविधा र आवासको सुधारमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
२ कराड भन्दा बढिको लागतमा सम्पन्न भएको नवनिर्मित भवन निर्माणमा सहयोग पु्र्याउने सशस्त्र प्रहरी सहितका विभिन्न व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो । गौर नगरपालिका–१ का अध्यक्ष लालबाबु चौधरी, नगरपालिकाका बोर्ड सदस्य तथा सुदर्शन आँखा अस्पताल गौरका प्रमुख डा. हरिश्चन्द्र झालाई कदरपत्र र गम्छा ओढाएर सम्मानित गरिएको थियो ।
त्यसैगरी, डिआइजी ढकाललाई सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले मायाको चिनो प्रदान गरेको जानकारी दिँदै गुल्मपति प्रेमसागर विष्टले विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश महिला संघकी अध्यक्ष संगिता सुवेदी, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । समारोहकै अवसरमा प्रमुख अतिथिसहितका पदाधिकारीहरूले गुल्म परिसरमा वृक्षारोपणसमेत गरेका थिए ।
डिआइजी ढकालले आजै इशनाथको औरैया र राजदेवी नगरपालिकाको बेलविछवामा निर्माण गरिएको नवनिर्मित भवनको उदघाटन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाए ।
















