२०८३ जेष्ठ ११ गते, सोमबार ०२:४७

होटल व्यवसायी महासंघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर थापा को हुन्?

पोखरा । होटल व्यवसायी महासंघ नेपालको आसन्न निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यही चैत २७ र २८ गते पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १३औं साधारणसभा तथा पाँचौं अधिवेशनका लागि महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै थापाको दाबेदारीले व्यवसायी वृत्तमा थप चर्चा पाएको छ ।

लामो समयदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका थापा हाल महासंघको वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन् । संस्थागत संरचनामा विभिन्न तहमा रहेर काम गरेको अनुभवका आधारमा उनको उम्मेदवारीलाई व्यवसायीहरूले स्वाभाविक र न्यायोचित रूपमा लिएका छन् ।

वि.सं. २०५२ सालदेखि व्यवसायमा संलग्न थापा तीन दशक लामो अनुभव भएका पर्यटन व्यवसायी हुन् । महासंघभित्र सल्लाहकार, उपमहासचिव लगायतका जिम्मेवारी सम्हालिसकेका उनले होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको संस्थापक सल्लाहकार तथा जिल्ला होटल व्यवसायी संघको सल्लाहकारको रूपमा समेत काम गरेका छन् । नेपाली होटल व्यवसायी संघमा दुई कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थापा हाल उक्त संस्थाको संरक्षकका रूपमा रहेका छन् ।

व्यावसायिक क्षेत्रमा मात्र सीमित नरही उनी सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सक्रिय छन् । २०५३ सालमा मिलन टोल सुधार समाजको संस्थापक अध्यक्ष रहेका थापा हाल ग्रिनफिल्ड एजुकेसन फाउन्डेसन बाफल र कखरा मन्टेश्वरीका अध्यक्ष तथा तनहुँ मगर संघका सल्लाहकारको जिम्मेवारीमा छन् ।

देशभरका होटल व्यवसायीमाझ मिलनसार र इमानदार छवि बनाएका थापा कामप्रतिको प्रतिबद्धताका कारण परिचित छन् । व्यवसायीहरूको भावना बुझ्न सक्ने र समस्या समाधानमा सक्रिय रहने नेतृत्वका रूपमा उनलाई हेरिएको छ ।

यसैबीच, पोखरामा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । देशभरका होटल व्यवसायीहरूको सहभागिताले पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने र समग्र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM