२०८३ जेष्ठ ११ गते, सोमबार ०४:१५

विद्यार्थीमाथि यौन दबाब: मोहम्मद गद्दी पक्राउ, मुद्दा कमजोर बनाउन राजनीतिक दबाव

वीरगंज/मधेस विश्वविद्यालयमा कार्यरत एक कर्मचारीमाथि छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको, अस्वीकार गरेमा परीक्षामा अङ्क घटाउने र स्वीकार गरेमा विभिन्न सुविधा दिने प्रलोभन देखाएको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारी मोहम्मद राजु राउत गद्दी रहेका छन्। पीडित छात्राको उजुरीअनुसार राउतले प्रारम्भमा सहयोगको बहानामा नजिकिने प्रयास गरेका थिए। त्यसपछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउँदै निरन्तर मानसिक दबाब सिर्जना गरेको र प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्य नै प्रभावित पार्ने चेतावनी दिएको आरोप छ।

पीडितले दिएको उजुरीका आधारमा चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएसँगै आरोपित फरार भएका थिए। त्यसपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजतलास गर्दा उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

यस प्रकरणले गम्भीर मोड लिएको छ। स्रोतका अनुसार, पक्राउ परेका राउत मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मोहम्म्द लालबाबु राउत गद्दीका आफन्त रहेको कारण मुद्दालाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गरिएको छ। प्रशासनिक निकायमाथि प्रभाव पार्ने, अनुसन्धानलाई ढिलाइ गराउने तथा पीडितमाथि समेत उजुरी फिर्ता लिन दबाब दिने गतिविधि सुरु भएको स्रोतको भनाइ छ।

यस्ता संवेदनशील प्रकरणमा प्रभाव र पहुँचका आधारमा न्याय प्रक्रिया प्रभावित हुने आशंका बढेको भन्दै सरोकारवाला निकायको भूमिका प्रति गम्भीर प्रश्न उठ्न थालेको छ। यदि आरोप सत्य सावित भएमा यो केवल व्यक्तिगत दुर्व्यवहार मात्र नभई शैक्षिक संस्थाभित्रै शक्तिको दुरुपयोगको गम्भीर उदाहरण हुने देखिन्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने पीडितको सुरक्षा र निष्पक्ष छानबिन सुनिश्चित गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM