२०८३ जेष्ठ ११ गते, सोमबार ०८:०८

ओली गिरफ्तारी प्रकरणः पर्साका प्रदीप यादव र विजय सरावगी ‘मौन समर्थन’ ? विरोध सभामा अनुपस्थित

– जलेश्वर सर्राफ

वीरगंज। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ प्रकरणले देशव्यापी राजनीतिक तरंग सिर्जना गरिरहेका बेला पर्सा जिल्लामा भने फरक दृश्य देखिएको छ। नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार आयोजित विरोध कार्यक्रममा पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री प्रदीप यादव र वीरगंज महानगरपालिकाका पूर्वप्रमुख विजय सरावगीको अनुपस्थिति यतिबेला चासो र चर्चाको केन्द्र बनेको छ।

एमालेले ओलीको पक्राउविरुद्ध देशभर विरोध कार्यक्रमहरू गरिरहेका बेला वीरगंजमा आयोजित विरोध सभामा यी दुई नेताको सहभागिता नदेखिनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। पार्टीभित्रैका कतिपय कार्यकर्ताले यसलाई ‘मौन समर्थन’को संकेतका रूपमा व्याख्या गर्न थालेका छन्।

एमाले वीरगंज महानगर नगर समितिका कार्यवाहक अध्यक्ष लियाकत अलीले विरोध कार्यक्रममा व्यापक सहभागिताका लागि आह्वान गरेका थिए। तर अपेक्षाअनुसार भीड नजुट्दा कार्यक्रम सीमित दायरामै खुम्चिएको देखियो। कार्यक्रममा विश्वम्भर शर्मा, जालीम मियाँ, विचारी यादवलगायत करिब दुई दर्जन कार्यकर्ताको उपस्थिति रहेको थियो।

केन्द्रीय नेतृत्वले सामाजिक सञ्जालदेखि सडकसम्म आन्दोलन चर्काइरहेका बेला पर्साका स्थापित दुई नेताले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नदिनु र विरोध कार्यक्रममा समेत अनुपस्थित रहनु स्थानीय तहमा अर्थपूर्ण सन्देशको रूपमा लिइएको छ। यसले एमालेभित्रको आन्तरिक धारणा, रणनीति वा असन्तुष्टिको संकेत हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।

यद्यपि, यादव र सरावगी दुवै पक्षबाट यस विषयमा सामाजिक संजालबाट समेत औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। उनीहरूको मौनता नै अहिले राजनीतिक बहसको विषय बनेको छ-के यो रणनीतिक चुप्पी हो, कि परिस्थितिप्रतिको असहमति?

पर्सा जिल्लाको यो घटनाक्रमले समग्र रूपमा ओली पक्राउ प्रकरणप्रति पार्टीभित्रै विविध धारणा रहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM