२०८३ जेष्ठ १३ गते, बुधबार १२:२४

नारायणी अस्पतालमा के भइरहेको छ ? इमरजेन्सी सेवाप्रति गम्भीर प्रश्न

वीरगंज/ राज्यको करोडौँ लगानीमा सञ्चालन भइरहेको वीरगंजस्थित नारायणी अस्पतालमा सर्वसाधारणले सहज, सुलभ र छरितो स्वास्थ्य सेवा पाउनुपर्ने भए पनि त्यहाँ कार्यरत केही डाक्टर तथा स्वास्थ्यकर्मीहरूको गैरजिम्मेवार व्यवहारका कारण बिरामी र सेवाग्राहीहरू झनै पीडित बन्न पुगेका गुनासाहरू सार्वजनिक हुन थालेका छन्।

अस्पताल प्रशासन, व्यवस्थापन समिति तथा मेडिकल सुपरिटेन्डेन्टसहितको टोली दिनरात नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सक्रिय देखिए पनि, केही व्यक्तिका कारण सम्पूर्ण अस्पताल र चिकित्सक समुदायप्रति नै जनविश्वास कमजोर हुँदै गएको पीडितहरूको भनाइ छ।

स्वास्थ्य सेवा जस्तो पवित्र र अत्यन्त संवेदनशील क्षेत्रमा कार्यरत डाक्टरले बिरामीलाई सहज र सुलभ उपचार उपलब्ध गराउनुपर्नेमा उल्टै विभिन्न बहानामा थप पीडा दिने र अनावश्यक आर्थिक भार थोपरिने प्रवृत्ति देखिएको गुनासो सेवाग्राहीहरूबाट सुनिन थालेको छ।

विशेषगरी आकस्मिक कक्ष (इमरजेन्सी वार्ड) मा कार्यरत मेडिकल अफिसर डा. सनीफारुख अंसारीमाथि गम्भीर आरोपहरू उठेका छन्। पीडितहरूका अनुसार उनले बिरामीको चेकजाँचपछि अस्पतालको फार्मेसीमा उपलब्ध नहुने औषधि तथा अनावश्यक रूपमा महँगा फुड सप्लिमेन्टहरू लेखिदिने र “फलानो पसलबाट किन्नु” भन्दै बिरामी तथा उनका आफन्तलाई बाहिर पठाउने गरेका छन्।

गत कार्तिक ३० गते दुर्घटनामा परी आकस्मिक कक्षमा उपचार गराउन गएका एक विरामीलाई डा. सनीफारुखले औषधिसँगै अनावश्यक फुड सप्लिमेन्टहरूको पुर्जा दिएर “अराधना मेडिकलमा गएर औषधि किन्नु” भन्दै पठाएका थिए।

एक प्रतिनिधि पीडितका अनुसार यस्तो अभ्यासले गरिब, विपन्न तथा टाढाबाट उपचारका लागि आएका बिरामीहरू थप पीडामा पर्ने गरेका छन्। सरकारी अस्पतालमा निःशुल्क वा न्यून लागतमा उपचार हुने अपेक्षासहित आएका बिरामीहरू निजी औषधि पसल धाएर महँगा र अनावश्यक औषधि खरिद गर्न बाध्य हुनु परेको गुनासो व्यापक छ।

त्यसैगरी, अस्पतालको सरसफाइ व्यवस्था तथा आकस्मिक कक्षमा खटिने केही कर्मचारी र स्वास्थ्यकर्मीहरूबारे पनि व्यापक जनगुनासो आइरहेको बताइन्छ। आकस्मिक वार्डमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले ढिलासुस्ती गर्ने, गफ गरेर समय बिताउने र बिरामी वा उनका आफन्तले आफैं डाक्टर खोज्दै हिँड्नुपर्ने अवस्था सिर्जना भएको पीडितहरूको आरोप छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा देखिएका यस्ता लापरवाही र अनियमितताका गुनासोहरूले अस्पताल प्रशासनको प्रयासमाथि समेत प्रश्न उठाइरहेको छ। स्थानीयवासी तथा सेवाग्राहीहरूले नारायणी अस्पतालमा देखिएका समस्याबारे अस्पताल प्रशासन जानकार भएर पनि मौन बसेको हो कि गुनासोलाई गम्भीरतापूर्वक नलिएको हो भन्ने प्रश्न उठाएका छन्।

यस विषयमा बुझ्न अस्पतालका निमित्त मेसु डा. चितरंजन साहलाई फोन गर्दा उनको फोन बन अस्पताल प्रशासनको आधिकारिक धारणा आउन बाँकी रहेको छ। तर समयमै समस्या पहिचान गरी सुधारका कदम नचालिए सरकारी अस्पतालप्रतिको जनविश्वास थप खस्किने जोखिम बढ्दै जाने सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM