काठमाडौँ । नेपाल-भारतबीचको मुद्रा कारोबारमा महत्वपूर्ण परिवर्तन आउँदैछ। भारतीय रिजर्व बैंक (आरबीआई) ले भारतको केन्द्रीय राजपत्रमार्फत् सूचना प्रकाशन गर्दै नेपालमा १०० रुपैयाँभन्दा ठूला भारतीय नोट चलनचल्ती गर्न रोक लगाउँदै आएको प्रतिबन्ध आधिकारिक रूपमा हटाएको छ।
गजेटमा प्रकाशित सूचनाअनुसार “नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले १०० रुपैयाँभन्दा माथिका नोटहरू अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म साथमा बोक्न सक्नेछन्,” भनिएको छ।
सन् २०१६ को नोटबन्दीअघि नेपालमा ५०० र १००० दरका भारतीय नोट खुलेर कारोबार हुने गर्थे। तर नोटबन्दीपछि भारतले ठूला नोट नेपालमा चलाउन अनुमति नदिँदा व्यापार, पर्यटन र सटहीमा जटिलता रहँदै आएको थियो। अहिले भने २००, ५००, २००० लगायतका सबै दरका भारतीय नोट नेपालमा चलाउन मार्ग प्रशस्त भएको छ।
यसअघि आरबीआईले मौद्रिक नीतिमा संशोधन गर्दै नेपाली व्यवसायीलाई भारतीय बैंकमार्फत् ऋण प्रवाहको बाटो खुला गरिसकेको थियो। भारतले आफ्नो मुद्राको प्रभाव क्षेत्र विस्तार गर्न पछिल्ला दिनमा निरन्तर कदम चालिरहेको विश्लेषकहरू बताउँछन्।
यद्यपि, भारतीय पर्यटकले नेपाल छिर्दा २५ हजार भारुसम्म मात्रै बोक्न पाउने सीमालाई भने यथावत राखिएको छ। ठूला नोट बोक्न पाउँदा कारोबार, भुक्तानी र सटही प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ।
भारतमा रोजगारी गरेर फर्किने नेपाली कामदारका लागि पनि यो निर्णय लाभदायक हुने भएको छ। अब उनीहरूले भारतमै पाउने ठूला नोट सहजै नेपालमा ल्याई सटही गर्न पाउनेछन्।
तर पाकिस्तान र बंगलादेशका नागरिक भने नेपाल आउँदा १०० भन्दा माथिका भारतीय नोट लिएर नेपाल प्रवेश गर्न नपाउने व्यवस्था यथावत रहन्छ।
यो निर्णयले नेपाल-भारत व्यापार, पर्यटन र सीमावर्ती आवागमनमा सकारात्मक प्रभाव पार्ने वित्तीय विश्लेषकहरूको मूल्यांकन छ।
















