२०८२ आश्विन २५ गते, शनिबार २१:२५

सुशीला सरकार वजनदार देखिएन, अँध्यारो कोठाबाट शासन-सत्ता चलाउने कुरा अस्विकार्य : प्रभु साह

काठमाडौं, २५ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेन–जी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएकोप्रति आपत्ति जनाएका छन् ।
आजपाको काठमाडौं उपत्यका बिशेष कमिटीको आज (शनिबार ) काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आक्रोश पोख्दै भने, ‘त्यही जेन–जीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, तर असली (रियल) जेन–जी अगुवा को हो ? मैले चिनेको छैन भनेर बोल्नुहुन्छ, उहाँको अभिव्यक्ति हाँस्यास्पद त हो नै, त्यो भन्दा पनि बढि आपत्तिजनक छ ।’
हिजो (शुक्रबार)शितलनिवासको सर्वदलीय छलफलमा प्रधानमन्त्री कार्कीले आफूले अहिलेसम्म जेन–जी आन्दोलनको बास्तविक अगुवाहरु नचिनेको अभिव्यक्ति दिएकी थिईन् । यही सन्दर्भमा साहले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको चर्को आलोचना गरेका हुन् ।
साहले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीले नै रियल जेन–जी चिनेको छैन भन्नु हाँस्यास्पद हो, तपाईं कसको आन्दोलनको बलमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, म सोध्न चाहन्छु । रियल जेन–जीहरु तपाईंले नचिन्ने अनि प्रधानमन्त्रीको दाबी गर्न शितलनिवास एक महिनाअघि कसरी जानुभयो ? आन्दोलन कसको थियो भन्ने थाहा थिएन र ?’ साहले बास्तविक जेन–जी नचिन्ने प्रधानमन्त्री कार्कीलाई नै जनताले भोलि ‘डुप्लिकेट–प्रधानमन्त्री’को संज्ञा दिनेछन् भनेर टिप्पणी गरे ।
साहले वर्तमान सरकारले तोकिएकै मितिमा चुनाव गराउन सक्नेमा आशंकासमेत व्यक्त गरे । उनले अहिलेको सरकार वजनदार नभएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले अँध्यारो कोठाबाट शासन–सत्ता चलाउन सुरु गरेको उनको आरोप छ । उनले भने, ‘सुशीला सरकार वजनदार देखिएन, अँध्यारो कोठाबाट शासन–सत्ता चलाउने कुरा हामीलाई अस्विकार्य छ ।’ साहले अदालतमा बेञ्च चलाएजस्तो देश चलाउन सजिलो नहुने पनि प्रधानमन्त्रीलाई सुझाए ।
मुलुक विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री कार्कीले देशलाई सही निकास दिनकोलागि गम्भिरता नदेखाएको उनको गुनासो छ । उनले आफूले बोलाउनुपर्ने सर्वदलीय बैठक शितलनिवासको भरपरेकोमा पनि आलोचना गरे । जेन–जी आन्दोलनअघि र आन्दोलनपछि पनि संघर्षको मैदानमा रहेका निर्णायक शक्तिहरुलाई सर्वदलीय बैठकमा बेवास्ता र बाईपास गरेकोमा साहको आपत्ति थियो ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूकिामा पनि प्रश्न उठाए । चुनावको वातावरण बनाउने नाममा दलहरुलाई मात्रै रातो कार्पेट ओछ्याउने काम गरिएको र आन्दोलनको प्रमुख हिस्सा जेन–जी आन्दोलनका अगुवालाई बेवास्ता गरिएकोमा साहको गम्भीर असहमति छ । उनले भने, ‘दलहरुसँग एकदिन र जेन–जीहरुसँग अर्को दिन छलफल गरेर राष्ट्रपति रामचन्द्र पौडेलले के सन्देश दिन खोज्नुभएको हो ?’
उनले अहिलेको गृह प्रशासनको नेतृत्वको कारण सरकार असफलताको बाटोमा अघि बढेको आरोप लगाए । उनले भने, ‘जेन–जी आन्दोलनमा युवा विद्यार्थीहरुको हत्याराहरुलाई एक महिना बितिसक्दापनि कारबाही गर्न नसक्नुले सरकारको असफलता पुष्टि गरिसक्यो ।’ उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाए । उनले भने, ‘गृहमन्त्री नै अलमलमा देखिनुभयो, उहाँले कानूनीराज स्थापित गर्न नसक्ने हो भने बाटो लाग्दा हुन्छ ।’
जेन–जी आन्दोलनपछि प्रहरीको नुर निहुरिएको साहको टिप्पणी छ । उनले आन्दोलनको नाममा सुरक्षा निकायबाट लुटिएका हातहतियार अहिलेसम्म किन फिर्ता ल्याउन नसकेको भनेर गृहमन्त्रीलाई सोधे । उनले भने, ‘लुटिएको हतियार फिर्ता गर्न महिनौं लाग्ने सरकारले फागुन २१ गते चुनाव गर्न सक्ला र ? यो सरकारको क्षमतामाथि प्रश्न उठिसक्यो ।’
साहले देश यतिवेला संकटको ठूलो भूमरीमा फसकेको बताए । जनता जनविद्रोहको जितको उत्सवमा भएपनि केही दिन यताबाट सरकारकै कारण अहिले निराश बन्न थालेको उनको भनाई छ । साहले प्रधानमन्त्री कार्कीले महिनौंसम्म आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रश्न उठाए । उनले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन यत्रो समय लाग्छ त ? रक्षा र परराष्ट्र मन्त्रालयजस्तो संवेदनशील मन्त्रालय नेतृत्वविहीन बनाउँदा संशय पैदा भएको छ ।’
साहले अबको मुख्य निकासको बाटो भनेको यही व्यवस्था र यही संविधान कायम राखेर अघि बढ्दा देश झनै ठूलो भड्खालोमा जाने भन्दै अन्तरिम संविधान बनाएर जानुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको निकास अन्तरिम सरकारसँगै अब अन्तरिम संविधान हो । जनविद्रोहलाई संस्थागत गर्न एकपटक देशभक्त, न्यायप्रेमी र परिवर्तन चाहने अग्रगामी शक्तिहरुको निर्णायक संघर्ष आवश्यक छ ।’
सो क्रममा उनले आम जनता पार्टीले स्थापनाको छोटो समयमा नै श्रेष्ठता हाँसिल गरेको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी दुई वर्षअघि नै तेस्रो जनआन्दोलन औंल्याएर सडक संघर्षमा होमिएको थियो, त्यो जेनजी विद्रोहले हाम्रो तेस्रो जनआन्दोलनको घोषणालाई सिद्ध गरिसकेको छ । अहिले जनविद्रोहले कांग्रेस र एमालेको शासन सत्ता ढलिसकेको छ । तर, केपी ओलीको अहंकार र शेरबहादुर देउवाको दम्भ अझै ढलेको छैन । यिनीहरुले टाउको उठाउनु नेपाली जनताको टाउको दुख्नु हो ।’

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM