काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहलाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार, श्री जय किसान माध्यमिक विद्यालय, धरहरीमा शिक्षकको आवश्यकता भनी सार्वजनिक गरिएको विज्ञापनमा सेवाग्राहीले विधिपूर्वक आवेदन दिएको थियो। तर, विद्यालयका प्रधानाध्यापकले नियुक्ति प्रक्रिया अघि बढाउनका लागि बिचौलिया अरविन्द प्रकाश साह मार्फत चार लाख ५० हजार घुस मागेको भन्ने सूचना प्राप्त भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त रकम घुसको रूपमा लिएपछि प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहलाई शुक्रवार वीरगंजस्थित एक होटलबाट नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट चार लाख ५० हजार रकम पनि बरामद भएको जानकारी प्राप्त भएको छ।
प्रेस विज्ञप्तिमा आयोगले यस घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले घुस लिने र दिने व्यक्तिहरू दुवैलाई कानूनको दायरामा ल्याउने प्रक्रियामा आयोग अग्रसर रहेको बताए।