२०८२ आश्विन २६ गते, आईतवार १०:३५

दृष्टिविहीन शिक्षक राजेश अर्यालको ऐतिहासिक सगरमाथा आरोहण यात्रा घोषणा

काठमाडौं, ८ असोज।

नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिले सगरमाथा आरोहण गर्ने ऐतिहासिक प्रयास हुने भएको छ । दाङ घर भई हाल सल्यानमा स्थायी शिक्षकका रूपमा कार्यरत राजेश कुमार अर्यालले सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्ने तयारी गरेका हुन् । नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे औपचारिक जानकारी दिइएको हो ।

“दीगो पर्यटन, शान्ति, समृद्धि र स्वच्छ वातावरण” भन्ने नारा सहित अघि बढाइएको यस अभियानलाई नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक संघ र विश्वव्यापी सरोकार केन्द्र (Globally Concern Center for Climate Change–G4C) ले संयुक्त रूपमा आयोजना गरेका छन् । आयोजक संस्थाका अनुसार जलवायु परिवर्तन, हिमाल संरक्षण र दिगो पर्यटन प्रवर्द्धनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिन अभियान विशेष महत्वका साथ अघि बढाइएको हो ।

कार्यक्रममा अभियानका समयोजक नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवाः खड्गीले दृष्टिविहीन राजेश अर्यालको साहसिक यात्राले सम्पूर्ण नेपाली मात्र नभई विश्वकै अपांगता भएका व्यक्तिहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । सोही अवसरमा विश्वव्यापी सरोकार केन्द्रका अध्यक्ष तथा अनुभवी आरोही पि.के. शेर्पाले सम्पूर्ण व्यवस्थापन तथा आरोहण मार्गदर्शन गर्ने जिम्मेवारी आफ्नो रहेको जानकारी दिँदै सफल अभियानका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

ग्रीसका मानार्थ महावाणिज्यदूतसमेत रहेका नेपाल-ग्रीस मैत्री तथा सांस्कृतिक संघका संरक्षक बिक्रम पाण्डे काजीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

त्यस्तै, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा बढ्दो जलवायु परिवर्तन र तापमान न्यूनीकरण र नेपालमा पर्यटन प्रवर्धन को सन्देश फैलाउनको लागि अहिलेसम्मकै ठूलो संख्यामा सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा विश्वव्यापी सरोकार केन्द्र g4c तथा नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघको संयुक्त आयोजनामा प्रथम दृष्टिबिहिन सगरमाथा आरोहण कार्य हुने भएकोले दृष्टिबिहिन साहसी आरोहण राजेस कुमार अर्यालले नेपालमा दिगो पर्यटन प्रवर्द्धन, शान्ति समृद्धि र स्वच्छ वातावरणको लागी २०२६ मा सगरमाथा मा प्रकृति बचाउ अभियान्ता सफल सगरमाथा आरोही पि. के शेर्पा ले आरोहण गराउँदै हुनुहुन्छ यही विषयमा नेपाल पर्यटन बोर्डको सभाहल भृकुटी मण्डप काठमाडौँ मा पत्रकार भेटघाट कार्यक्रम सम्पन भयो यो प्रयासले पर्यटन क्षेत्रमै नयाँ मोड ल्याउने विश्वास व्यक्त गरे ।

जिल्ला होटल व्यवसाय संघका अध्यक्ष सुरेश बरालले बढ्दो जलवायु परिवर्तन र तापमान न्यूनीकरण र नेपालमा पर्यटन प्रवर्द्धनको सन्देश फैलाउनको लागि अहिलेसम्मकै ठूलो संख्यामा सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा गर्न लागिएको बताउनु भयो।

त्यस्तै समाजसेवी र व्यवसायीहरू, सांस्कृतिक अभियन्ता, साहित्यकार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूले पनि कार्यक्रममा आ-आफ्ना विचार राख्दै ऐतिहासिक आरोहणलाई सफल बनाउन सहयोग जुटाउन आग्रह गरे ।

राजेश अर्यालले आफू दृष्टिविहीन भए पनि इच्छाशक्ति, मेहनत र तालिमको भरमा सगरमाथा शिखरमा पाइला टेक्ने दृढ संकल्प लिएको बताए । उनले नेपाललाई दिगो पर्यटनको सन्देशसहित विश्वसामु चिनाउन आफ्नो यात्रा समर्पित हुने जनाए । यसअघि उनले आधारभूत पर्वतारोहण तालिम प्राप्त गरिसकेका छन् भने आगामी नोभेम्बरमा ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरी थप तयारी गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

आयोजक संस्थाका अनुसार अभियान सफल बनाउन उच्च गुणस्तरका उपकरण, अनुभवी शेर्पा गाइड, अनुमति शुल्क र सम्पूर्ण व्यवस्थापनका लागि ठूलो खर्च आवश्यक पर्ने भएकाले विभिन्न निकाय, संघसंस्था र व्यक्तिहरूको सहयोग अपरिहार्य रहेको छ । इच्छुक सहयोगीहरूले प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

नेपालमा दृष्टिविहीन व्यक्तिको पहिलो सगरमाथा आरोहण प्रयासले पर्यटन, हिमाल संरक्षण र जलवायु सचेतनामा नयाँ प्रेरणा दिने अपेक्षा राखिएको छ । आयोजकहरूले यो अभियानलाई केवल व्यक्तिगत चुनौती मात्र नभई सम्पूर्ण राष्ट्रको गौरवका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM