काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जमा प्रहरी हत्यामा संलग्न मुख्य आरोपितसहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपित सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो । उनी धुम्बाराहीमा किराना पसल सञ्चालन गर्दै आइरहेका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा एक समूहले प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो ।
असई रायको हत्यामा पक्राउ परेका पौडेल मुख्य देखिएका छन् । उनले आन्दोलनकारीको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा सडकमा छटपटाइरहेका रायमाथि काठको मुङ्ग्रो प्रहार गरेका थिए । उनले असई रायमाथि निकैपटक मुख, टाउको र शरिरका अन्य भागमा समेत प्रहार गरेको भिडियोमा देखिन्छ ।
पौडेलकै उक्साहटमा अन्यले समेत असई रायमाथि निर्मम प्रहार गरेको भिडियोमा स्पष्ट देखिन्छ ।
त्यस्तै सोही घटनामा जोडिएका अर्का व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अर्का व्यक्ति काभ्रेका युवराज क्यापफाकी रहेका छन् ।
प्रहरीले सामाजिक सञ्जालमा आएको भिडियो, सीसीटिभी फुटेजमा देखिएको अनुहारका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलन उग्र बन्दा ३ जना प्रहरीको ज्यान गएको थियो ।