वीरगञ्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रोजेन्द्र लिङ्देनले मानिसहरु चन्द्रमामा पुगेर आइसके पनि नेपालीहरुले अझै सिटामोलसमेत नपाउने अवस्था रहेको बताएका छन्।
वीरगञ्जमा मंगलबार आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले विदेशका मानिसहरु मंगल ग्रहमा बस्ती बसाउने कुरा गरिरहेको भए पनि नेपालीहरु एउटा गाउँबाट अर्को गाउँ जाने पुल नपाएर छटपटाइराखेको बताए।
मानिसहरु चन्द्रमा पुगेर आइसके, मंगल ग्रहमा बस्ती बसाउने कुरा गरिरहेका छन्,’ उनले भने, ‘हामीहरुले सिटामोल नपाएर अदालतको आदेशको व्यवस्था व्यहोरी राखेका छौँ। एउटा गाउँबाट अर्को गाउँ जाने एउटा सानो पुल नपाएर छटपटिराखेका छौँ।’
कृषिप्रधान देश भने पनि जनताले चाहेको बेला पैसा तिरेर पनि मल, बीउ किन्न नपाएको तथा दुःख गरेर किसानहरुले उत्पादन गरेको सामान बेच्न बजार भाउसमेत नपाएको लिङ्देनको भनाइ छ।
3 करोड जनसंख्यासमेत नपुगेको नेपालका लाखौँ युवाहरु परिवार पाल्न अरब देशहरुमा पसिना चुहाउन बाध्य भएकोले देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखाना भएको उनले बताए।
कांग्रेस, माओवादी, एमाले, मधेसवादी दलहरुले चुनाव जिते शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड नै आउने भएकाले उनीहरुलाई कति वर्ष मौका दियो भने यो देश बन्ने हो भन्ने कुरा जनताले सोध्नुपर्ने बताए।
नेपाली जनताले आफ्नो भाग्य परिवर्तन गर्नुछ भने एमाले,कांग्रेस, माओवादी, मधेसवादी दलको विकल्प खोज्न आम जनसमुदायसित उनले आग्रह पनि गरे।