२०८३ बैशाख १९ गते, शनिबार ०४:१२

सांसद श्रेष्ठको प्रश्न : घुस प्रकरणमा अडिओमा उल्लेख गरिएका ‘बा’ को हुन्?

काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्बन्धी अडिओ प्रकरण सार्वजनिक भएपछि त्यसले संसदमा पनि बहस निम्त्याएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उक्त अडिओको निष्पक्ष छानबिनको माग गर्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले अडिओमा उल्लेख गरिएका विवरणहरू गम्भीर प्रकृतिका रहेको बताउँदै भूमि व्यवस्थासम्बन्धी निर्णय प्रक्रियामा देखिएको शक्ति प्रयोग र मिलेमतोप्रति आशंका व्यक्त गरिन्। “कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोग अध्यक्ष नियुक्तिमा सेटिङ, र भूमि विधेयकलाई फास्ट ट्र्याकमार्फत पास गराउने प्रयास किन भइरहेको छ भन्ने प्रश्न उठेको छ,” सांसद श्रेष्ठले भनिन्, “एक मन्त्रीले अर्को मन्त्रीमाथि दबाब दिएको जस्तो सुनिन्छ। यसबारे सत्यतथ्य बाहिर आउनुपर्छ।”

श्रेष्ठले अडिओमा बारम्बार उल्लेख गरिएको ‘बा’ को पहिचानबारे समेत प्रस्टोक्ति माग गरेकी छन्। “अडिओमा ‘बा’ भनिएको व्यक्ति को हो भन्ने कुरा स्पष्ट हुनुपर्छ। त्यो ‘बा’ को हुन्?” उनले प्रश्न गरिन्।

गुप्तासँग जोडिएको अडिओ सार्वजनिक भएपछि त्यसमा भूमि व्यवस्थामन्त्रीको नामसमेत घनघोर रूपमा उल्लेख गरिएको छ। यसले सरकारभित्रको स्वार्थ र शक्तिको लेनदेनबारे गम्भीर प्रश्न खडा गरिरहेको छ।

सांसद श्रेष्ठले यस प्रकरणमा संलग्न सबै पक्षको जिम्मेवारी निर्धारण गर्नुपर्नेमा जोड दिँदै संसदमा निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेकी हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM