२०८३ बैशाख ३० गते, बुधबार २०:२२

हरिशयनी एकादशी : चातुर्मास्य व्रतको पवित्र आरम्भ

✍ कृष्णकान्त शास्त्री

आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई हरिशयनी एकादशी भनिन्छ। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझाइन्छ भने ‘शयन’ को अर्थ सुत्नु हो। यसै दिन भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुन्छ, त्यसैले यस तिथिलाई हरिशयनी एकादशी भनेर चिनिन्छ।

पुराणहरूका अनुसार, भगवान् विष्णु आषाढ शुक्ल एकादशीका दिन शयनमा जानुहुन्छ, भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन पुनः जाग्नुहुन्छ। त्यसैले भाद्र शुक्ल एकादशीलाई हरि परिवर्तिनी र कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ। यी चार महिनालाई चातुर्मास्य भनिन्छ, जुन समय भगवान् विष्णुको शयनकालका रूपमा मानिन्छ र सम्पूर्ण मानव जातिका लागि परम कल्याणकारी मानिन्छ।

इतिहास, पुराण र धर्मशास्त्रहरूमा यस अवधिमा विशेष उत्सव र व्रत गर्न निर्देशन दिइएको छ। स्कन्दपुराणमा आषाढ शुक्ल एकादशीमा भगवानको शयनोत्सव मनाउनुपर्छ भनिएको छ। ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवान् विष्णुको शयन, परिवर्तन र जागरणका अवसरमा विशेष उत्सव मनाउनुपर्छ भन्ने वचन पाइन्छ।

हरिशयनी एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत आरम्भ गर्ने प्रचलन छ। ब्रह्मवैवर्त पुराणमा यस व्रतको महात्म्य र विधि उल्लेख गरिएको छ। व्रतको मूल भाव शरीर र मनको शुद्धि र आत्मनियन्त्रण हो। यस दिन निराहार उपवासलाई उत्तम मानिन्छ, तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि ग्रहण गरेर पनि व्रत गर्न सकिन्छ। एकादशीका दिन अन्न सेवन निषिद्ध छ, कारण भनिन्छ— सबै पापहरू एकादशीका दिन अन्नमै आश्रय लिएका हुन्छन्। बेलुकीको हविष्यान्न जस्ता सात्विक भोजन पनि परहेजका लागि हो भन्ने बुझिन्छ।

धार्मिक दृष्टिले, एकादशी व्रतलाई नित्यकर्म मानिन्छ— जुन नगर्दा दोष लाग्छ र गर्दा विशेष पुण्य प्राप्त हुन्छ। जबकि नैमित्तिक कर्म नगर्दा दोष लाग्ने तर गर्दा विशेष फल दिने कर्म हो। र काम्य कर्म गर्दा मात्र फल प्राप्त हुने तर नगर्दा दोष नलाग्ने कर्म हो। एकादशी व्रत नगर्दा भगवान्का उत्सवप्रति बेवास्ता र शास्त्र अवज्ञा ठहर्छ, त्यसैले यसलाई नित्यकर्मकै रूपमा लिनुपर्छ।

यसै दिन तुलसीको बिरुवा रोप्ने परम्परा पनि छ, जसलाई धार्मिक र पर्यावरणीय दुवै दृष्टिले पवित्र कार्य मानिन्छ। विधिपूर्वक व्रत बस्दा पाप क्षय, पुण्य वृद्धिसँगै मानसिक शान्ति, इच्छापूर्ति र आध्यात्मिक उन्नति हुने शास्त्रहरूमा उल्लेख छ।

हरिशयनी एकादशी केवल व्रत या परम्परा मात्र होइन, आन्तरिक शुद्धि, अनुशासन र भक्ति–भावनाको सुन्दर समागम हो, जसले हाम्रो जीवनलाई धर्म, अध्यात्म र समाजप्रतिको उत्तरदायित्वमा अझ सुदृढ बनाउँछ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM