२०८३ जेष्ठ ६ गते, बुधबार १४:४७

वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौँ, १५ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।
धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सव–इञ्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारी विरुद्ध आरोपपत्र दायर गरिएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ तोकिएको शर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाइ बनाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM