काठमाडौं । पूर्व मन्त्री चन्दा चाैधरीले पुरुषहरुले पैसाको भरमा चुनाव जित्ने आरोप लगाएकी छन् । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा मोडर्न कन्या मल्टिपल कलेजले आयोजना कायक्रममा उनले पुरुषले योगदानको भरमा भन्दा पनि पैसाको भरमा टिकट पाउने गरेको खुलासा गरिन् ।
नारी र पुरुष बराबर हुनुपर्ने उनले बताइन् । चाैधरीले भनिन्, ‘महिलाहरु मेहनत गरेर राजनीतिमा आएका छन् भने पुरुषहरु पैसाको भरमा राजनीतिमा आएका हुन् ।’
महिलाहरु बाहिरको काम गरेर आएर घरको काम समेत गर्छन् । तर पुरुषहरुले बाहिरको काम मात्र गर्ने गरेको उनको भनाई छ । पुरुषसँग बराबरीको हक दाबी गर्नुभन्दा आफ्नो लागि आफैं काम गर्नु राम्रो हुने उनले बताइन् । उनले महिलाको योगदान र संघर्षको खुलेर प्रशंसा गरिन् ।
मोडर्न कन्या मल्टिपल कलेजका अध्यक्ष प्रा. डा. राम दाहालले महिलाहरुको हकिहितका निम्ति एकजुट भएर लड्नुपर्ने बताए । उनले बलात्कारका घटनालाई निर्मूल पार्न सबैको भूमिक हुनुपर्ने बताए । उनले महिला सशक्तिकरणले चेतना बढाउन भूमिका खेल्ने बताए ।
नेपाल पूँजी बजार लगानी संघकी अध्यक्ष राधा पोखरेलले नारीले नेतृत्व लिए हरेक ठाउँ सफल हुने बताइन् । उनले लगानी संघको अध्यक्ष भएर सफल नेतृत्व गरिरहेको बताइन् । उनले नारीका पक्षमा कलम चलाएको समेत बताइन् ।
उनले आफैं अध्यक्ष हुँदा समेत विभिन्न खालका समस्या र चुनाैती भोग्नुपरेको बताइन् । उनले नारी भएकै कारण अन्यायमा परेको समेत बताइन् ।